कविना बलामी,काठमाडौँ । नेपाली भलिबलमा पहिलोपटक पुरुषतर्फ पनि लिग प्रतियोगिता सुरु भएसँगै नेपाली भलिबललाई थप व्यवस्थित, व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ। खेलाडीमा रहेको क्षमता र इच्छाशक्तिलाई सही अवसर र पूर्वाधारसँग जोड्न सकियो भने नेपाली भलिबलले आगामी दिनमा अझ ठूलो छलाङ मार्न सक्ने देखिन्छ।
नेपाली भलिबलमा पुरुषतर्फ पहिलोपटक लिग प्रतियोगिता सुरु हुनु खेल क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। लामो समयदेखि नेपाली भलिबल संघले विभिन्न घरेलु प्रतियोगिताको आयोजना गर्दै आएको भए पनि लिग प्रणालीको सुरुवातले नेपाली भलिबललाई अझ व्यवस्थित र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले खेलाडीलाई नियमित रूपमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभालाई भलिबलतर्फ आकर्षित गर्ने आधारसमेत तयार गर्ने विश्वास गरिएको छ। नेपालमा भलिबल पछिल्लो समय लोकप्रिय खेलका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढ्दै जाँदा यस खेलप्रति युवाको आकर्षण पनि बढेको देखिन्छ।नेपाली भलिबल संघले लामो समयदेखि विभिन्न घरेलु प्रतियोगिताको आयोजना गर्दै आएको छ। यसबाट नेपाली भलिबलले विस्तारै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो उपस्थिति जनाउन सफल भइरहेको छ। अहिले नेपाली भलिबललाई राम्रो ट्र्याकमा अघि बढाउने प्रयास भइरहेको र राज्यले खेलकुद क्षेत्रमा गरिरहेको लगानी तथा संघले गरिरहेको मेहनत प्रशंसनीय रहेको पूर्व कप्तान रेशम गुरुङले व्यक्त गर्नुभयो।
तर नेपाली भलिबलको विकासका लागि अझै धेरै चुनौती विद्यमान छन्। पूर्वाधारको अभाव नेपाली भलिबलले भोगिरहेको प्रमुख समस्यामध्ये एक हो। देशभर पर्याप्त खेलमैदान तथा प्रशिक्षणका लागि आवश्यक पूर्वाधार नहुँदा खेलाडीले नियमित अभ्यास र प्रतियोगिता गर्न कठिनाइ भोगिरहेका छन्। हाल नेपालमा सीमित संख्यामा मात्र स्तरीय खेलमैदान उपलब्ध छन्। एउटै स्टेडियममा विभिन्न प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हुँदा खेलाडी तथा आयोजक दुवैलाई समस्या पर्ने गरेको छ। राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुँदा समेत पर्याप्त कोर्टको अभाव देखिने गरेको छ। आफ्नै स्तरको राम्रो कोर्ट नहुँदा खेलाडीले उपलब्ध सीमित कोर्टमै अभ्यास तथा प्रतियोगिता खेल्नुपर्ने बाध्यता छ।
भलिबललाई राष्ट्रिय खेलका रूपमा अघि बढाउने हो भने खेलाडीको प्रतिभा र इच्छाशक्तिसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि राज्यले ध्यान दिनुपर्ने देखिन्छ। घरेलु प्रतियोगिताको संख्या बढ्नु, खेलाडीले नियमित रूपमा प्रतिस्पर्धा गर्ने अवसर पाउनु र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढ्दै जानुले नेपाली भलिबलको भविष्यप्रति आशा जगाएको छ। पुरुषतर्फ लिगको सुरुवातले यसलाई अझ संस्थागत र व्यावसायिक बनाउन थप सहयोग पुग्ने देखिन्छ।
पुरुषतर्फ पहिलोपटक सुरु भएको भलिबल लिग नेपाली भलिबलको विकास यात्रामा महत्वपूर्ण कदम हो। यसले खेलाडीलाई नियमित प्रतिस्पर्धाको अवसर दिनुका साथै भलिबललाई व्यावसायिक र व्यवस्थित खेलका रूपमा स्थापित गर्ने सम्भावना बोकेको छ। यसको दीर्घकालीन सफलता र नेपाली भलिबलको अन्तर्राष्ट्रिय स्तरमा उन्नतिका लागि पर्याप्त पूर्वाधार, नियमित प्रतियोगिता, खेलाडीको उचित संरक्षण र राज्य तथा निजी क्षेत्रको निरन्तर लगानी आवश्यक छ।




