काठमाडौं ।
रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण ३ सय ८४ जना आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा अमेरिका, चीन र भारतका पर्यटक र पथप्रदर्शकहरु रहेका छन् । उहाँले सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतबाट आएका पर्यटकहरु रहेको समेत बताउनु भयो । उहाँ राज्यका सबै संयन्त्रहरु विपद्पछिको खोज र राहतको कार्यमा सक्रिय रहेको उल्लेख गर्दै सम्पर्कविहीन पर्यटकहरु छिट्टै सम्पर्कमा आउने आशा समेत व्यक्त गर्नुभयो । ऐरले कैलाश मानसरोवर जाने यात्रुहरूको टोलीसहित पर्यटक बाढी प्रभावित क्षेत्रमा फसेको टुर अपरेटरमार्फत जानकारी प्राप्त भएको बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग तथा सुरक्षा निकायबीच समन्वय गरी उद्धार र खोजी कार्य भइरहेको बताउनु भयो । उहाँले सम्पर्कविहीन पर्यटको खोजको लागि पर्यटन बोर्डको क्राइसिस सेल र टुरिस्ट पुलिसलगायतका संयन्त्र पनि परिचालन गरिएको बताउनु भयो । उहाँले सम्पर्कविहीन, फेला परेका तथा उद्धार भइरहेका पर्यटकहरूको विवरण आदानप्रदानका लागि नेटवर्क स्थापना गरिएको र सोही विवरणका आधारमा नेपालस्थित विदेशी नियोगहरूलाई समेत जानकारी कार्य बोर्डले गरिरहेको समेत बताउनु भयो ।
रसुवा बाढीः पर्यटकीय दृष्टिकोणमा नेपालको छवि धुमिल बनाउने घटना
बुधवार बिहान तिब्बती क्षेत्रमा गएको भूकम्पको कारण हिमपहिरो गई आएको बाढीले नेपालको कोभिडपछि तंग्रिँदै गएको पर्यटन क्षेत्रलाई फेरी धक्का दिएको ऐरले बताउनु भयो । उहाँले जलवायुजन्य विपद्का घटना निरन्तर हुँदा पर्वतीय पर्यटनको हिसावले विश्वसमुदायमाझ नेपाल छवि बिग्रिँदै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । ऐरले रसुवा बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पार्न सक्ने बताउनु भयो । यही विपद्को कारण आगामी पर्यटकीय सिजनमा समेत नेपालको पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नसक्ने बताउनु भयो ।सीमापारबाट अचानक आएको बाढीपछि सरकारका सुरक्षा तथा विपद् व्यवस्थापन निकाय खोज र उद्धारमा केन्द्रित छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङ धेरै प्रभावित भएका छन् । सरकारले त्रिशूली हुँदै तल्लो क्षेत्रमा बढेको जोखिमलाई मध्यनजर गर्दै शतर्कता बढाउन आग्रह गरेको छ ।




