राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ ।

सांसदहरूले मुलुकको कुटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती र बाढी–पहिरोको जोखिम जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद जगत तिमल्सिनाले नेपालको परराष्ट्र नीति र कुटनीतिक प्रतिनिधित्वमा देखिएको रिक्तताप्रति प्रश्न उठाउनु भयो । ३१ वैदेशिक नियोगमध्ये २१ वटामा राजदुत नहुँदा ती नियोगहरू कार्यवाहकको भरमा चलिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा सांसद खम्मबहादुर खातीले बाजुराको मार्तडीमा विशेषज्ञ चिकित्सक (एमडिजीपी) को अभाव हुँदा स्थानीय बासिन्दा स्वास्थ्य सेवाबाट विमुख हुनुपरेको बताउनु भयो ।

सांसद रेखाकुमारी झाले प्रादेशिक अस्पतालहरू, विशेष गरी जनकपुरको प्रादेशिक अस्पतालमा दक्ष चिकित्सकको अभाव र लापरवाहीका कारण सुत्केरी महिलाहरूको मृत्यु हुने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा बढी समय दिने गरेकाले अस्पतालको सेवा प्रभावित भएको उहाँको दाबी छ । झापामा फैलिएको जापानी इन्सेफ्लाइटिसको प्रकोप र स्वास्थ्य मन्त्रालयको मौनताप्रति सांसद रोशनी मेचेले आपत्ति जनाउनु भयो । साथै, वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका झापाका रमेश मेचेको शव २० दिन बितिसक्दा पनि स्वदेश ल्याउन नसकिएको भन्दै उहाँले कूटनीतिक पहलका लागि माग गर्नुभयो ।
तराईको बाढी र डुबान समस्याका बारेमा बोल्दै सांसद धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदीको बाँध भत्किने जोखिममा रहेको र त्यसले १ हजारभन्दा बढी घरधुरी विस्थापित हुनसक्ने भन्दै तत्काल तटवन्ध निर्माणका लागि आग्रह गर्नुभयो । उहाँले सर्पदंशको उपचारमा भ्याक्सिनको प्रभावकारितामाथि पनि प्रश्न उठाउनु भयो ।

पूर्वाधार र प्रशासनिक ढिलासुस्तीका विषयमा सांसद रञ्जित कर्णले राजविराजका ५२ हजार सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने सरकारको पूर्वसहमति अझै कार्यान्वयन नभएको गुनासो गर्नुभयो । राजविराज–भारदह सडक खण्डको निर्माण कार्य अलपत्र परेको र गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य मन्त्रीको अनुगमन पछि पनि बिरामीको अवस्थामा सुधार नभएको उहाँले बताउनु भयो । सांसद वासुदेव घिमिरेले काठमाडौंको एक होस्टलमा दाङका वसन्त कालाथोकीको कुटपिटबाट भएको मृत्यु र त्यस लगत्तै उनकी आमाले गरेको आत्महत्याको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार