सन् २०२६ मा आयोजना हुने २०औँ आइची–नागोया एशियाली खेलकुदका लागि मंगलबार टोकियोस्थित राष्ट्रिय रङ्गशालामा पहिलो दीप प्रज्वलन गरिएको छ । आगामी मशाल ¥यालीका लागि तय गरिएका श्रृंखलावद्ध दीप प्रज्वलन कार्यक्रममध्ये यो पहिलो चरण हो । एशियाली खेलकुद आयोजक समितिका अध्यक्ष एवं आइचीका गभर्नर हिदेआकी ओमुरा, जापानी ओलम्पिक समितिका अध्यक्ष सेइको हाशिमोतो लगायतका विशिष्ट अधिकारीहरूको उपस्थितिमा सो समारोह सम्पन्न भएको थियो । समारोहमा खेलाडीहरूको तर्फबाट जापानी धावक योशिहिदे किर्युले सन् १९५८ मा जापानमा पहिलो पटक आयोजना गरिएको टोकियो एशियाली खेलकुदमा प्रयोग भएको दीप पात्र (काल्ड्रन) बाट ज्वाला संकलन गरेका थिए ।
गभर्नर ओमुराले यस समारोहलाई मशाल ¥यालीका लागि आवश्यक तीनवटा ज्वालाहरू संकलन गर्ने प्रक्रियाको एक महत्वपूर्ण र प्रतिकात्मक कदमका रूपमा चित्रण गर्नुभयो । तालिकाअनुसार दोस्रो दीप प्रज्वलन समारोह आगामी बिहीवार सन् १९९४ को एशियाली खेलकुद आयोजक शहर हिरोशिमामा हुनेछ भने तेस्रो ज्वाला शनिबार नागोया किल्लामा संकलन गरिनेछ ।
टोकियो, हिरोशिमा र नागोयाबाट संकलित यी तीनवटै ज्वालाहरूलाई एकीकृत गरी आइची–नागोया एशियाली खेलकुदको आधिकारिक मशाल तयार गरिनेछ, जसले ¥यालीको रूप लिनेछ ।
तीन पटककी ओलम्पिक कुस्ती च्याम्पियन साओरी योशिदाले मशाल ¥यालीको पहिलो संवाहकका रूपमा नेतृत्व गर्नेछिन् । यो मशाल आइची प्रान्तका ४० वटा नगरपालिका र नागोयाका १६ वटा वार्डहरूमा लैजाने योजना छ, जसमा करिव १ हजार मशाल संवाहकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । २० औँ एशियाली खेलकुद सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ । यस बृहत् खेलकुद महोत्सवमा एशियाका ४५ देश तथा क्षेत्रका खेलाडीहरूले ४३ वटा खेल विधामा प्रतिष्पर्धा गर्नेछन् ।




