होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति

इरान र ओमानबीच सामरिक महत्त्वको होर्मुज जलडमरूमध्यमा समुन्द्री यातायातका लागि नयाँ मार्गको नक्शांकनका बारेमा सहमति भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी दिनुभएको हो । प्रवक्ता बाघेईले होर्मुज जलडमरूमध्यबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको बताउनु भयो । उहाँकाअनुसार दुवै देशले यस सहमतिको मस्यौदालाई नक्शा र संयुक्त विज्ञप्तिसहितको एकमुष्ट प्याकेजका रूपमा अन्तिम रूप दिने तयारी गरेका छन् । यस प्रक्रियामा भएको ढिलाइबारे स्पष्ट पार्दै बाघेईले यसको जटिलता, प्रक्रियामा प्रभाव पार्न खोज्ने विभिन्न पक्षहरूको उपस्थिति र केही द्वेषपूर्ण तत्वहरूको अवरोधलाई मुख्य कारणका रूपमा उल्लेख गर्नुभयो ।
उहाँले तेहरान र मस्कटले यस विषयमा अत्यन्तै गम्भीरताका साथ छलफल जारी राखेको र संयुक्त विज्ञप्तिको पाठमा विचार आदानप्रदान भइरहेको बताउनु भयो । दुवै देशले आफ्ना राष्ट्रिय हितको रक्षा गर्ने, आपसी सरोकारहरू सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय सिपिङका नियमहरूलाई ध्यानमा राख्दै प्रभावकारी संयन्त्र विकास गर्न चाहेको उहाँको भनाइ थियो ।
सोही अवसरमा प्रवक्ता बाघेईले गत जुन १८ मा इरान र अमेरिकाबीच भएको समझदारी पत्रका बारेमा पनि टिप्पणी गर्नुभयो । उक्त सम्झौताअनुसार तेहरानको आणविक मुद्दा र प्रतिवन्धहरू हटाउने विषयमा ६० दिनभित्र वार्ता शुरु हुनुपर्ने प्रावधान थियो । तर अमेरिकाले सम्झौताको व्यापक र गम्भीर उल्लंघन गरेका कारण उक्त वार्ता शुरु हुन नसकेको उहाँले दाबी गर्नुभयो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो सुरक्षा निगरानी र नियन्त्रणलाई थप सशक्त बनाएको छ । विश्वको प्रमुख तेल आपूर्तिका लागि यो जलमार्गलाई अत्यन्तै संवेदनशील मानिन्छ ।

Leave a Reply

ताजा समाचार