काठमाडौँ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देशभर परम्परागत विधिअनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ । आजको दिन घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने प्रचलन रहेको छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी जस्ता जीवहरूको भय नहुने तथा चट्याङ र अग्निभयबाट समेत मुक्ति पाइने धार्मिक विश्वास रहेको छ । नागपञ्चमीका अवसरमा काठमाडौंको नागपोखरी, टौदह, ललितपुरको धापाखेलस्थित नागदह र भक्तपुरको सिद्धपोखरी लगायत देशभरका विभिन्न नागदह, कुण्ड र मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नागलाई जल, दूध, अक्षता र दुबो चढाई श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ । वैदिक सनातन धर्ममा नागलाई शक्तिको प्रतीक र जलको संवाहक मानिन्छ । खेतीपातीका लागि समयमा वर्षा गराउन नागको विशेष भूमिका रहने जनविश्वासका कारण पनि कृषकहरूले यस दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् । आजको दिन खेतबारीमा खनजोत नगर्ने परम्परा समेत रहेको छ ।




