राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति चिन्ता व्यक्त गर्नुभएको हो । नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गर्नुभयो । नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उहाँको भनाइ छ । यो राजनीतिको उद्देश्यभन्दा फरक र विचलित बाटो भएको बताउनु भयो ।

पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उहाँले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गर्नुभयो । बदलिँदो परिवेशमा पार्टीका सामु नयाँ विषय र चुनौतीहरू थपिएको बताउँदै उहाँले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो । प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उहाँले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्यहरू भइरहेको बताउनु भयो । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका कामहरू व्यवस्थित ढंगले अगाडि बढ्नु सुखद् पक्ष रहेको उहाँको भनाइ छ ।

Leave a Reply