‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गर्नुभएको भेटघाटपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । शितल निवासमा भएको उक्त छलफलमा पूर्वराष्ट्रपति यादवसहित पूर्वउपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट पदाधिकारीहरूको सहभागिता रहेको थियो । पूर्वराष्ट्रपति यादवले सुनसरीमा दुई समुदायबीच भएको घटनापछि तराईका जिल्लामा भएको झडप र प्रदर्शनका घटनाहरूमा तीन जना नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति सम्वेदना प्रकट गर्नुभयो ।

उहाँले राज्यका निकायहरूले समयमै सही सूचना प्राप्त गरी व्यवस्थापन गर्न नसक्दा यस्ता अप्रिय घटना हुने गरेको उल्लेख गर्नुभयो । सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै डा. यादवले राज्यले सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवाहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै उहाँले कुनैपनि बहानामा सामाजिक विखण्डन हुन नदिन आग्रह गर्नुभयो । संकटको घडीमा सरकारलाई मात्र दोष नदिएर समुदाय र सचेत नागरिकले पनि शान्ति र अमनचयन कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलको राष्ट्रिय एकता र सद्भावप्रतिको चिन्तालाई समर्थन गर्दै डा. यादवले देशमा शान्ति स्थापनाका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार