शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ ।

नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गर्नुभयो । साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै अर्यालले दङ्गा नियन्त्रण दमनबाट नभइ संवाद र विश्वासबाट गरिनुपर्ने बताउनु भयो । तर राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको आरोप लगाउनु भयो । उहाँले उक्त घटनामा मृत्युवरण गर्ने ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराउनु भयो । उहाँले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गर्नुभयो । मुलुक सङ्कटमा परेका बेला प्रधानमन्त्री ’बेखबर’ रहेको आरोप लगाउनु भयो । उहाँले सरकारले ठोस योजना ल्याएमा शान्ति र सद्भाव कायम गर्न एमाले सहकार्य गर्न तयार रहेको भए तापनि सरकारले त्यो तत्परता नदेखाएको बताउनु भयो । प्रधानमन्त्रीले विगतमा संसदमा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता अर्यालले राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने कार्य भएको दाबी गर्नुभयो । सम्बोधनका क्रममा उहाँले बाढी पहिरो पीडितहरूको राहत र पुनस्र्थापनामा सरकारको सुस्तताप्रति आपत्ति जनाउनु भयो ।  साथै, सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने नाममा होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि अमानवीय ढंगले लखेट्ने कार्य राज्यबाट भएको भन्दै उहाँले सरकारको गैरजिम्मेवार चरित्रको आलोचना गर्नुभयो ।

Leave a Reply