सृजना सापकोटा। प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रयोग र आधुनिक जीवनशैलीको प्रभावका बीच नेपाली युवापुस्तामा धार्मिक आस्था बढ्दै गएको पाइन्छ । पछिल्ला वर्षहरूमा विशेष गरी साउनको सोमबार, शिवरात्रि, तीज, जनैपूर्णिमा, बुद्धजयन्ती, कृष्ण जन्माष्टमी तथा अन्य धार्मिक पर्वहरूमा मन्दिर,गुम्बा र धार्मिक स्थलहरूमा युवा भक्तजनको उल्लेखनीय उपस्थिति हुने गरेको छ ।धार्मिक गतिविधिमा मुख्यतः ज्येष्ठ नागरिकको सहभागिता बढी हुने मान्यता विस्तारै विस्थापित हुँदै गएको छ । अहिले विद्यालय, कलेज र विभिन्न पेशामा आबद्ध युवा पुस्ता बिहानैदेखि मन्दिर पुगेर पूजा–आराधना गर्ने, व्रत बस्ने, धार्मिक कथा सुन्ने तथा सामाजिक सञ्जालमार्फत धार्मिक सन्देश साझा गर्ने क्रम बढेको छ । पशुपतिनाथ, कोटेश्वर महादेव, स्वयम्भूनाथ, बुढानीलकण्ठ लगायतका धार्मिक स्थलमा युवाहरूको बाक्लो उपस्थिति यसैको उदाहरण हो । युवाहरूमा धार्मिक आस्थाले मानसिक शान्ति, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास बढेको छ । व्यस्त दिनचर्या, अध्ययनको दबाब, रोजगारीको प्रतिस्पर्धा तथा व्यक्तिगत तनावबाट केही समय टाढा रहेर आध्यात्मिक वातावरणमा समय बिताउँदा मन शान्त हुने युुवापुस्ताले अनुभव गर्न थालेका छन् । युवाले धर्मलाई अन्धविश्वासका रूपमा नभई जीवनलाई अनुशासित, जिम्मेवार र नैतिक बनाउने माध्यमका रूपमा लिने गरेको पाइन्छ ।
यसले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षणमा सहयोग पु¥याइरहेको छ । यद्यपि धर्मको नाममा फैलाइने भ्रम, अन्धविश्वास वा गलत सूचनाबाट भने सचेत रहनुपर्नेमा पनि युवापुस्ता सचेत छन् । धार्मिक आस्था विवेक, ज्ञान र सकारात्मक सोचसँग जोडिन सके समाजका लागि अझ लाभदायी हुने उनीहरूको भनाइ छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले यहाँका विभिन्न धर्म, संस्कृति र परम्पराप्रति सम्मान गर्ने अभ्यासले सामाजिक सद्भावलाई मजबुत बनाउँदै आएको छ । यही परिवेशमा नयाँ पुस्ताले आधुनिक शिक्षासँगै आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानलाई पनि आत्मसात् गर्न थालेको देखिन्छ ।समग्रमा, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीको प्रभावबीच पनि नेपाली युवापुस्तामा धार्मिक आस्था घटेको होइन, बरु नयाँ स्वरूपमा विस्तार हुँदै गएको देखिन्छ । धार्मिक विश्वासलाई सकारात्मक सोच, नैतिक आचरण, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणसँग जोड्न सकिए यसले व्यक्ति मात्र होइन, समग्र समाजलाई नै सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।




