पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदबीच बिहीवार टेलिफोन वार्ता भएको छ । सो क्रममा दुवै नेताले क्षेत्रीय सुरक्षा र सामुन्द्रिक स्थिरताका लागि निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री सरिफले लाल सागरमा साउदी तेल ट्याङ्करहरूमाथि हुथी विद्रोहीहरूले गरेको आक्रमणको निन्दा गर्नुभयो । उहाँले यस्ता आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन, नौवहन स्वतन्त्रताका लागि गम्भीर खतरा र क्षेत्रीय शान्ति एवं सुरक्षालाई कमजोर पार्ने अस्वीकार्य कार्यको रूपमा चित्रण गर्नुभयो । प्रधानमन्त्री सरिफले साउदी अरबप्रति पाकिस्तानको पूर्ण ऐक्यवद्धता प्रकट गर्दै वर्तमान परिस्थितिमा पाकिस्तानी नेतृत्व र जनता साउदी अधिराज्यको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्नुभयो । दुवै नेता क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न तथा लाल सागर, हर्मोज जलडमरू र समग्र क्षेत्रमा कानूनी सामुन्द्रिक व्यापारको निर्वाध प्रवाह सुनिश्चित गर्न मिलेर काम गर्न सहमत हुनुभएको छ ।





