देशभर वर्षा र हिमपातको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

देशभर वर्षा र हिमपातको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभरको मौसममा बदली भई आज अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । हिमाली भू–भागका केही स्थानमा भने वर्षासँगै हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, रातिको समयमा पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । महाशाखाकाअनुसार राति कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा वर्षा हुनेछ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Leave a Reply