काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल हुनेछ । दिउँसो सवा २ बजे बने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेस र वागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा हुनेछ ।




