काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देशका विभिन्न भागमा देखिएका विद्युत आपूर्तिमा अवरोध, अव्यवस्थित सडक विस्तार र खानेपानीको अभावलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक तथा विशेष समयमा बोल्दै सांसदहरूले नागरिकका आधारभूत समस्या समाधानमा सरकार उदासिन रहेको आरोप लगाए । बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताउनु भयो । गत राति ट्रान्सफर्मरमा आगलागी हुँदा विर्तामोड, हल्दीबारी, भद्रपुर र कन्काई लगायतका क्षेत्रका नागरिकहरू लामो समय अन्धकारमा बस्न बाध्य भएको उहाँले बताउनु भयो ।
उहाँले विद्युत आपूर्ति प्रणालीको व्यवस्थापनमा सरकार र नेपाल विद्युत प्राधिकरण गम्भीर नभएको भन्दै तत्काल समस्या समाधानका लागि उर्जा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । सांसद नरेन्द्रकुमार गुप्ताले वीरगञ्ज महानगरपालिकामा भइरहेको सडक विस्तारका क्रममा मानवीय संवेदनशीलतालाई वेवास्ता गरिएको भन्दै आपत्ति जनाउनु भयो । बजार क्षेत्रमा २५ मिटर सडक फराकिलो गर्ने नाममा सयौँ वर्ष पुराना संरचनाहरूमाथि निर्मम रूपमा डोजर चलाइएको उहाँले दाबी गर्नुभयो । महानगरले साढे १२ मिटर विस्तार गर्ने निर्णय गरे पनि २५ मिटरको परिधिमा संरचना भत्काइनु न्यायसंगत नभएको उल्लेख गर्दै उहाँले जनतालाई उठिबास हुनबाट जोगाउन सरकारसँग माग गर्नुभयो ।
सांसद यज्ञमणि न्यौपानेले मोरङ क्षेत्र नम्बर १ का उर्लाबारी, मिक्लाजुङ र लेटाङ क्षेत्रमा विद्युत र खानेपानीको चरम अभाव रहेको बताउनु भयो । उहाँले राजधानी काठमाडौंमा मेलम्चीको पानी आइपुग्दा ग्रामीण क्षेत्रका नागरिकले आधारभूत खानेपानी समेत नपाएको भन्दै गुनासो गर्नुभयो । संसदमा बोल्ने सांसदहरूले जनसरोकारका यी विषयमा सम्बन्धित मन्त्रालयहरूले तत्काल ठोस कदम चाल्नुपर्ने र नागरिकको राज्यप्रतिको विश्वास धर्मराउन दिनु नहुनेमा जोड दिएका छन् ।




