काठमाडौं ।
नेपाली काँग्रेसकी सांसद गंगालक्ष्मी अवालले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको समता शुल्क फिर्ता गर्न माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथि संसोधन प्रश्तुत गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विद्यालयमा प्रश्ताव गरिएको ‘शिक्षा समता शुल्क’ पनि खारेज गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भयो । गुणस्तरीय शिक्षा र पूर्वाधार उपलब्ध गराएमा नागरिक स्वतः सामुदायिक विद्यालयतर्फ आकर्षित हुने उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य क्षेत्रमा प्रश्ताव गरिएको ‘स्वास्थ्य समता शुल्क’ समेत अव्यवहारिक भएको बताउनु भयो । सरकारी अस्पतालमा चिकित्सकको अभावले लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले निजी अस्पतालमा थप ३ प्रतिशत शुल्क लगाउनु जनहितविपरीत भएको बताउनु भयो ।
उहाँले सरकारी अस्पतालमा चिकित्सकको दरबन्दी बढाउन, आवश्यक औषधिको सहज उपलब्धता सुनिश्चित गर्न तथा एमआरआईलगायत अत्यावश्यक उपकरण थप्न सरकारलाई आग्रह गर्नुभयो ।सांसद अवालले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्कबापत विदेशी मुद्रा सटहीमा ३ प्रतिशत शुल्क असुल्ने व्यवस्था हटाउनुपर्ने बताउनु भयो । उक्त व्यवस्था पूर्ण रूपमा हटाउन नसकिने भए कम्तीमा १ प्रतिशतमा झार्न सरकारसँग आग्रह गर्नुभयो ।




