काठमाडौं ।
जेठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका दिन आज देशभरका वैदिक सनातन धर्मावलम्वीहरूले आफ्नो घरमा तुलसीको दल (बीउ) राख्दैछन् । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा रहेको तुलसीको मठमा विधिपूर्वक बीउ राख्ने धार्मिक परम्परा रहिआएको छ । आज राखिएको तुलसीको बीउबाट पलाएको बिरुवालाई ठ्याक्कै एक महिनापछि अर्थात असार शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन मठ वा गमलामा विधिपूर्वक सार्ने (रोप्ने) गरिन्छ । हिन्दू धर्मावलम्बीहरूले तुलसीलाई भगवान् विष्णुको स्वरूपका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गर्दछन् । धार्मिक शास्त्रअनुसार वर्षभरिका २४ वटा एकादशीमध्ये निर्जला एकादशीलाई सबैभन्दा महत्वपूर्ण र फलदायी मानिन्छ । यस दिन पानी समेत नखाई (निर्जल) व्रत बस्ने शास्त्रीय विधान रहेकाले यसलाई ‘निर्जला एकादशी’ भनिएको हो । आजको दिन श्रद्धालुहरूले भगवान् विष्णुको विशेष आराधना गर्दै पवित्र मनले तुलसीको दल राख्ने र दान–पुण्यका कार्यहरू गर्ने गर्दछन् ।





