संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी रूपमा एचआईभी/एड्सको महामारीलाई अन्त्य गर्न र यस विरुद्धको लडाइँलाई तिब्रता दिन सुदृढ राजनीतिक प्रतिवद्धताको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत आयोजित एचआईभी/एड्स सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । महासचिव गुटेरेसको तर्फबाट उक्त बैठकको उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले मन्तव्य प्रश्तुत गर्नुभएको थियो । सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले विगत ४५ वर्षमा एड्स विरुद्धको अभियानमा विश्वले असाधारण ऐक्यवद्धता र संकल्प प्रदर्शन गरेको उल्लेख गर्नुभयो । प्रश्तुत तथ्याङ्कअनुसार, सन् २००४ को उच्च बिन्दुको तुलनामा एड्ससँग सम्बन्धित मृत्युदर ७० प्रतिशतले घटेको छ भने सन् २०१० को तुलनामा ५४ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एचआईभी रोकथाम र उपचार सेवाहरूको विस्तारका कारण नयाँ संक्रमणको दरमा ४० प्रतिशतले ह्रास आएको छ । हाल विश्वभर एचआईभी संक्रमित ३ करोड २० लाखभन्दा बढी व्यक्तिहरूले जीवनरक्षक एन्टिरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन् ।
यद्यपि, एड्सको चुनौती अझै पूर्ण रूपमा समाप्त नभएको तर्फ राष्ट्रसंघले सचेत गराएको छ । एचआईभी विरुद्धको प्रतिकार्यले सीमा र क्षेत्रभन्दा माथि उठेर गरिने ऐक्यवद्धताले डर, असमानता र अन्यायलाई पराजित गर्न सकिन्छ भन्ने प्रमाणित गरेको महासचिवको सन्देशमा उल्लेख छ । यस लक्ष्यलाई पूर्ण रूपमा हासिल गर्न स्थानीय, क्षेत्रीय र विश्वव्यापी संस्थाहरूको एकीकृत प्रयास अपरिहार्य रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।





