इजरायल र लेबनानबीच युद्धविराम सम्झौता लागू भएपनि इजरायली सेनाले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालय र राष्ट्रिय समाचार एजेन्सी (एनएनए) काअनुसार यी श्रृङ्खलाबद्ध आक्रमणमा अन्य कयौँ व्यक्ति घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार दक्षिणी लेबनानको सिडोन जिल्लास्थित कन्नेरिट शहरमा भएको भीषण आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा पाँच बालबालिका र पाँच महिला रहेका छन् । यस्तै, दक्षिणी लेबनानका अन्य स्थानमा भएका ड्रोन आक्रमणमा एक सिरियाली नागरिकसहित थप ८ जनाको ज्यान गएको छ ।
लेबनानी स्वास्थ्य मन्त्रालयको सार्वजनिक स्वास्थ्य आपतकालीन परिचालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२४ मार्च २ देखि हालसम्म इजरायली आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको सङ्ख्या ४ हजार ५७ पुगेको छ । सोही अवधिमा १२ हजार १२१ जना घाइते भएका छन् ।
यो सैन्य गतिविधि शुक्रवार दिउँसोदेखि लागू भएको भनिएको युद्धविराम सम्झौताको प्रतिकूल देखिएको छ । इजरायली सञ्चारमाध्यम च्यानल १२ का अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले सेनालाई युद्धविराम गर्न निर्देशन दिएका थिए । यद्यपि, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरू भने अझै छाडेको छैन ।
अमेरिकाको समन्वयमा जारी गरिएको उक्त निर्देशनमा इजरायली सेनाले दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा आफ्नो उपस्थिति कायम राख्ने उल्लेख छ । हिजबुल्लाहले युद्धविरामको पालना गरेको खण्डमा मात्र इजरायली सेनाले आफ्ना आक्रामक सैन्य गतिविधि रोक्ने बताइएको छ ।




