वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँः प्रधानमन्त्री साह | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँः प्रधानमन्त्री साह

प्रधानमन्त्री बालेन्द्र साहले गरिब र विपन्नलाई निःशुल्क शिक्षा–स्वास्थ्य उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
आईतवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले देशभरका गरिब तथा विपन्न नागरिकले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउने व्यवस्था विस्तार गर्ने बताउनुभएको हो । यसका लागि संघीय सरकार र स्थानीय तहबीच सहकार्य गरिने उहाँको भनाइ छ । उहाँले संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था भएपनि त्यसअनुसार पर्याप्त बजेट उपलब्ध नभएको उल्लेख गर्नुभयो । तत्कालका लागि सबै नागरिकलाई नभएर कम्तीमा विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिरहेको उहाँको दाबी छ । उहाँले साम्यवाद र समाजवादका भाषण गर्न सहज भएपनि कार्यन्वयनमा ल्याउन मुस्किल हुने बताउनु भयो । यी अवधारणालाई भाषणमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘मैले पहिलेदेखि नै भन्दै आएको साम्यवाद, समाजवाद भनेको भाषणमा दिन एकदमै सहज हुन्छ, मजा पनि आउँछ, तर साँच्चिकै साम्यवाद र समाजवाद ल्याउने हो भने काठमाडौ महानगरपालिकामा म मेयर हुँदाको उदाहरण दिन चाहन्छु, हामीले विपन्न गरिबलाई निजी विधालयमा १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था लागू गरेका थियौँ, विपन्न गरिबका बच्चाहरु एकदमै महंगा विद्यालयमा पढ्न पाए । साँच्चिकै समाजवाद भनेको त्यो हो । विभिन्न मंहगा अस्पतालहरुमा हामीले ऐन कानुन, संविधान बमोजिम नै १० प्रतिशत वेड विपन्नलाई दिनुपर्छ भन्ने व्यवस्था थियो त्यसको लागी हामीले निजी अस्तपालमा विपन्नलाई व्यवस्था गरेका थियौँ, त्यही हो समाजबाद, साम्यवाद भनेको । त्यस्तो कुरालाई समाजबाद, साम्यवाद भनिन्छ । यही १० प्रतिशत गरिब विपन्नलाई दिनुपर्ने सुविधाहरु हामी देशभर लागू गर्ने व्यवस्था गर्दैछौँ । यसको लागी विभिन्न जिल्ला तथा स्थानिय तहहरुमा सहकार्य गरेर जानेछौँ । संविधानमा लेख्न त लेखिएको फ्रि शिक्षा, फ्रि स्वास्थ्य तर सरकारको बजेट त्यो छ कि छैन भन्ने कुरा सोचिएन, त्यही भएर अहिलेको लागी सबैलाई नभएर कम्तीमा विपन्न वर्गलाई निशुल्क शिक्षा र स्वस्थ्य उपलब्ध गराउन नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी लागेको छ ।’
काठमाडौं महानगरपालिकाको मेयर रहँदाको अनुभव स्मरण गर्दै उहाँले निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति तथा निजी अस्पतालमा १० प्रतिशत शय्या विपन्न नागरिकका लागि सुनिश्चित गर्ने व्यवस्था कार्यान्वयन गरिएको बताउनुभयो । यस्ता कार्यक्रमहरू नै वास्तविक समाजवाद भएको उहाँको भनाई छ ।

Leave a Reply