काठमाडौँ ।
नेपालमा आज गणतन्त्र दिवस मनाइँदैछ । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । दिवसको मुख्य अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ । समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायत राज्यका उच्च पदस्थ अधिकारीहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्च पास्ट तथा विशेष कौशल प्रदर्शन गरिनेछ । साथै, विभिन्न निकाय र सांस्कृतिक समूहहरूबाट मुलुकको जातीय एवं सांस्कृतिक विविधता झल्कने झाँकी र कलाहरू प्रश्तुत गर्ने कार्यक्रम रहेको छ ।




