काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले आगामी आर्थिक वर्षको बजेटले मुलुकभरका नागरिकको भावना समेट्ने र ठूला पूर्वाधार निर्माणमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले स–साना आयोजनाभन्दा राष्ट्रिय आवश्यकताका ठूला आयोजनामा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको हो । सांसद कार्कीले सोलुखुम्बुमा रणनीतिक महत्वका तीनवटा सडक र तीनवटा पुल निर्माणका लागि सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र नाम्चेमा ४ सयदेखि ५ सय जना क्षमताको सभाहल र पर्यटक सूचना केन्द्र (टुरिस्ट इन्फर्मेसन सेन्टर) स्थापनाका लागि आफूले विशेष पहल गरेको उहाँको भनाइ छ ।
सोलुखुम्बुलाई विकासका दृष्टिले ‘पूर्वको कर्णाली’ को संज्ञा दिँदै उहाँले विश्वकै ध्यानाकर्षण हुने पर्यटकीय क्षेत्र भएर पनि यहाँ आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्नुभयो ।उहाँले यी समस्याहरू समाधानका लागि सरकारसमक्ष माग राखेको र यस पटकको बजेट विनियोजनमा कुनै पनि प्रकारको पक्षपात नहुनेमा आफू आशावादी रहेको बताउनु भयो । सरकारले आवश्यकता र प्राथमिकताका आधारमा सन्तुलित बजेट ल्याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।




