बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की

काठमाडौँ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बजेटमा ऊर्जा क्षेत्रका लागि समेटिएका धेरै कार्यक्रम सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले बजेटमा सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य स्पष्ट रूपमा अघि सारेको र सबै आयोजनाको पीपीए (पावर पर्चेज एग्रिमेन्ट) गर्ने, ‘वान डोर पोलिसी’ लागू गर्ने लगायतका विषयहरू बजेटमा समावेश हुनु सकारात्मक रहेको बताउनु भयो । उहाँले विगतमा पनि बजेटमा समेटिएका कतिपय कार्यक्रम कानूनी तथा नीतिगत व्यवस्था अभावका कारण कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै यसपटक कानुन संशोधन र नीतिगत सुधारमार्फत ती व्यवस्था लागू हुनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तिब्रता दिन विशेष प्राथमिकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले ऊर्जा क्षेत्रका आयोजनालाई सहज बनाउन ‘वान डोर पोलिसी’ प्रभावकारी रूपमा लागू गरिनुपर्ने बताउनु भयो । हाल एउटा आयोजना अगाडि बढाउन विभिन्न मन्त्रालय र निकायमा धाउनुपर्ने अवस्थाले लगानीकर्तालाई कठिनाइ भइरहेको उहाँको भनाइ थियो । कार्कीले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुला गर्नुपर्ने निजी क्षेत्रको माग सरकारले सम्बोधन गरेको उल्लेख गर्दै अब ‘टेक अर पे’ मोडलमा पीपीए प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताउनुभयो । कुनै पनि आयोजनाको पीपीए नगर्ने भनेर कतै उल्लेख नभएकाले सरकारलाई पीपीए प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले ऊर्जा क्षेत्रका नीतिगत सुधारका लागि निजी क्षेत्र, सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भयो  । बजेटमा समेटिएका विषयहरू कार्यान्वयनमा लैजान निजी क्षेत्रले पनि सक्रिय भुमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply