काठमाडौँ ।
मंगलवार बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न विधेयकहरूमाथि छलफल र पारित गर्ने सम्बन्धी सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयकाअनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यसैगरी, सम्माननीय प्रधानमन्त्री तथा गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न प्रस्तावहरू पेस गर्ने कार्यसूची रहेको छ । मन्त्री गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । बैठकमा निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरूमाथि पनि कारबाही अगाडि बढाइनेछ । मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सदनमा दफावार छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । यी दुवै विधेयकलाई सोही बैठकबाट पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।




