काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत क्षेत्रको विकास र सरकारले लिएको ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गर्नुभएको छ । सुदूरुपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्ष डाँगीले मुलुकको उर्जा क्षेत्रमा देखिएका समस्याहरूको मुख्य जड प्रशारण लाइन रहेको भन्दै यसमा निजी क्षेत्रलाई प्रवेश दिइनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उपाध्यक्ष डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता रहेपनि हाल केवल १ सय ५९ मेगावाट मात्र उत्पादन हुनु दुःखद् रहेको बताउनुभयो । वि.सं.२०५५ सालदेखि निजी क्षेत्रले उर्जा उत्पादनमा प्रवेश पाएयता हालसम्म करिव ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिसकेको उल्लेख गर्दै डाँगीले सोहीअनुसारको उदार नीति अन्य क्षेत्रमा पनि आवश्यक रहेको बताउनुभयो ।
जलविद्युत आयोजनाले स्थानीय स्तरमा विकास र समृद्धि दुवै लिएर आउने दाबी गर्दै डाँगीले स्थानीय शेयरको विषयमा पनि निजी क्षेत्र संवेदनशील रहेको बताउनुभयो । सरकारले लिएको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना पूरा गर्न निजी क्षेत्र पूर्ण रुपमा तयार रहेको तर त्यसका लागि आवश्यक पूर्वाधार र नीतिगत वातावरण निर्माणमा सरकारले कन्जुस्याँई गर्न नहुने डाँगीको भनाइ छ ।





