काठमाडौँ ।
स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो आधार भएको बताउनुभएको छ । राजधानीमा भएको एक कार्यक्रममा उहाँले नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्रै भरपर्दो क्षेत्र उर्जा भएको बताउनु भयो । उहाँकाअनुसार नेपालले जलस्रोत, घाम र हावाबाट ठूलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । निजी क्षेत्रले त्यसको क्षमता प्रमाणित गरिसकेको छ । २०५५ सालमा २५४ मेगावाट उत्पादन भएको अवस्थामा आज देश ४३०० मेगावाट क्षमतामा पुगेको छ ।
त्यसमध्ये करिब ३५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिसकेको छ ।डाँगीले नेपाल सरकारले विद्युत व्यापार गर्न नसक्ने, प्रसारण लाइन बनाउन नसक्ने भन्ने आशंका आवश्यक नभएको उल्लेख गर्दै ऊर्जा क्षेत्रप्रति विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ । अर्थमन्त्री, ऊर्जामन्त्री तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल भइरहेको छ । हाँले ऊर्जा क्षेत्रमा सकारात्मक सन्देश फैलाउन सञ्चार माध्यम र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । डाँगीले ऊर्जा क्षेत्रका नकारात्मक पक्षभन्दा सकारात्मक सम्भावना र उपलब्धिमा केन्द्रित हुन आग्रह गर्दै नेपाललाई समृद्ध बनाउने प्रमुख आधार जलस्रोत र ऊर्जा क्षेत्र नै भएकोले सरकारले पनि यो क्षेत्रलाई नजरअन्दाज गर्न नहुने बताउनु भयो ।





