सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा तिब्रता दिन सांसदहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा तिब्रता दिन सांसदहरुको सुझाव

काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरूले सिंहदरबारमा निर्माणाधीन संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा भएको ढिलाईप्रति सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागको ध्यानाकर्षण गराउनुभएको हो । भवनहरूमा अपाङ्गमैत्री तथा महिलामैत्री सुविधाको व्यवस्था सुनिश्चितता गर्न समेत उनीहरुको सुझाव छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदम परियारले भवन निर्माण विभागलाई हतारमा काम सक्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिनुभयो । उहाँले धरहराजस्तै उद्घाटन गर्न हतारो गर्नको लागि नभई प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभयो । विभाग आफैं जिम्मेवार निकाय भएको उल्लेख गर्दै सांसद  परियारले प्रभावकारी व्यवस्थापनमार्फत काम छिटो सम्पन्न गर्ने उपाय खोज्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले)की सांसद रुक्मिणी कोईरालाले विभागको लक्ष्यअनुसार असार मसान्तसम्म संसद भवन निमर्काणको काम सम्पन्न हुनेमा शंका व्यक्त गर्नुभयो ।

उहाँले ग्यालरी बैठक कक्ष निर्माणमा पनि ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले निर्माणाधीन भवनका शौचालय ढोकासमेत प्रयोग गर्न नसकिने अवस्थाको रहेको भन्दै प्रारम्भमै ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै महिला तथा अपांगमैत्री संरचना बनाउन समेत विभागको ध्यानाकर्षण गराउनु भयो । नेकपा सांसद गोमादेवी तिमिल्सिनाले निर्माणाधीन संसद भवनलाई अपांगमैत्री र महिलामैत्री बनाउन विशेष ध्यान दिनुपर्ने बताउनु भयो । बैठकपछि समितिक पदाधिकारीहरूले निर्माणाधीन ग्यालरी बैठक भवनको अनुगमन समेत गर्नुभएको थियो ।

Leave a Reply