निर्वाचन जित्न अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुपर्छ : महामन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

निर्वाचन जित्न अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुपर्छ : महामन्त्री पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक संगठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गर्नुभएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पार्नुभयो । महामन्त्री पौडेलले सामाजिक सञ्जालमा पार्टीको प्रभाव बढाउन केन्द्रको डिजिटल युनिटले गर्ने पोस्टहरूलाई तल्लो तहसम्म पुर्याउनुपर्ने बताउनुभयो । यो अभियान पार्टीलाई जिताउन र संगठन विस्तारका लागि भएको उहाँको भनाइ छ ।

पार्टीका पुराना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्न बैंकको ‘केवाइसी’ जस्तै सदस्यता अध्यावधिक गर्न लागिएको पौडेलले जानकारी दिनुभयो । यसले पुराना सदस्यहरूको विवरण राख्न र उनीहरूलाई पार्टीमा सक्रिय बनाउन मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महामन्त्री पौडेलले कतिपय निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत आएको बताउनुभयो । सात हजार एक सय क्रियाशील सदस्य भएको ठाउँमा जम्मा ४ हजार २ सय मत आउनुलाई उहाँले ‘बेइमानीको पराकाष्ठा’ का रुपमा चित्रण गर्नुभयो । यस्ता समस्या समाधान गर्न सदस्यता नवीकरण र अध्यावधिक अभियान अनिवार्य रहेको उहाँको तर्क थियो ।

पार्टीका वडा सभापति, क्षेत्रीय र जिल्ला समितिलाई काममा सक्रिय हुन पौडेलले आग्रह गर्नुभयो। नेपाली काँग्रेसको सदस्य भएर आफ्नै उम्मेदवारलाई भोट नहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

यसलाई व्यवस्थित गर्न निष्ठावान् र इमान्दार सदस्य बनाउने प्रक्रिया अगाडि सारिएको उहाँले बताउनुभयो। काठमाडौंमा यो अद्यावधिक अभियान वैशाख महिनाभित्रै सम्पन्न गर्न उहाँले आह्वान गर्नुभयो। काठमाडौंको सफल म्यासेजले देशभर उत्साह भर्ने उहाँको दाबी छ । जिल्ला कार्यालयले नवीकरण गरेका र १५ औँ महाधिवेशनमा इन्ट्री भएका सदस्यहरूको मात्र विवरण अध्यावधिक हुने पनि उहाँले प्रस्ट पार्नुभयो।

Leave a Reply