काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकका कारण झण्डै दुई अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ । लामो समयदेखि विवादित यो विषयमा त्रिविले छानबिन थालेपछि रकम फिर्ता गर्ने क्रम पनि शुरु भएको छ ।
त्रिविको नियम अनुसार शिक्षक–कर्मचारीले अधिकतम पाँच वर्षसम्म तलबसहित अध्ययन बिदा पाउने व्यवस्था छ । तर, यही सुविधा दुरुपयोग गर्दै धेरै प्राध्यापक विदेश गएर नफर्किएको पाइएको हो ।
छानबिनका लागि गठन गरिएको तीन सदस्यीय समितिले अहिलेसम्म तीन सय ९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पुष्टि गरेको छ । तीमध्ये एक सय ९१ जना अध्ययन सकेर पनि फर्किएका छैनन् भने २०७ जनाले अध्ययन नै पूरा नगरेको पाइएको छ । समितिका अनुसार यस्तो प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र नभई शैक्षिक र नैतिक रूपमा समेत ठूलो क्षति पुर्याएको छ ।
अध्ययन बिदामा गएका स्थायी शिक्षकको ठाउँमा करार र आंशिक शिक्षक राख्नुपर्दा विश्वविद्यालयमाथि थप आर्थिक भार परेको छ । प्रारम्भिक विवरण अनुसार एक शिक्षकको वार्षिक तलब भत्ता झण्डै १० लाख रुपैयाँ हुने हुँदा पाँच वर्षको अवधिमा तीन सय ९८ जनाबाट झन्डै दुई अर्ब रुपैयाँ बराबरको दुरुपयोग भएको अनुमान गरिएको छ । त्रिविले कबुलियत अनुसार तलब भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्न निर्देशन दिएपछि अहिलेसम्म २० जनाबाट झण्डै साढे ६ करोड रुपैयाँ फिर्ता भएको छ । थप ५० जनाभन्दा धेरै प्राध्यापक रकम फिर्ता गर्ने प्रक्रियामा रहेका छन् ।





