आजको व्यस्त जीवनशैलीसँगै हाम्रो खानपान संस्कृतिमा ठूलो परिवर्तन आएको छ । परम्परागत, पोषणयुक्त घरेलु खानाको स्थान आधुनिक बजारीया तथा जङ्क फुडले लिँदै जाँदा यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा देखिन थालेको छ । यस्तो अवस्थामा स्वस्थ जीवनका लागि सही खानपानको छनोट किन आवश्यक छ ?
मानव जीवनको आधारभूत आवश्यकतामध्ये खानपान एक प्रमुख पक्ष हो । हाम्रो खानपान संस्कृतिले केवल पेट भर्ने मात्र होइन, हाम्रो पहिचान, परम्परा र स्वास्थ्यलाई पनि निर्देशित गर्छ । तर पछिल्लो केही दशकयता विश्वव्यापीकरण, शहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले हाम्रो परम्परागत खानपानमा उल्लेखनीय परिवर्तन आएको छ । यस परिवर्तनले एकातिर सुविधा र विविधता ल्याएको छ भने अर्कोतिर स्वास्थ्यमा गम्भीर चुनौतीहरू पनि खडा गरेको छ ।
पहिलेका दिनहरूमा नेपाली समाजमा घरमै तयार गरिने ताजा, पोषणयुक्त र सन्तुलित खाना खाने चलन थियो । दाल, भात, तरकारी, अचार, घ्यू, दूध तथा मौसमी फलफूल हाम्रो दैनिक भोजनको अभिन्न अङ्ग थिए । यी परिकारहरू स्थानीय उत्पादनमा आधारित, रासायनिक पदार्थरहित तथा प्राकृतिक पोषणले भरिपूर्ण हुन्थे । यसले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, भिटामिन र खनिज पदार्थ सहजै उपलब्ध गराउँथ्यो ।
तर आजको परिवेशमा समयको अभाव, कामको चाप र आधुनिक जीवनशैलीका कारण मानिसहरू छिटो तयार हुने तथा सजिलै उपलब्ध हुने खानातर्फ आकर्षित भएका छन् । बजारमा पाइने तयारी खाना, जङ्क फुड, प्याकेटबन्द स्न्याक्स, चाउचाउ, पिज्जा, बर्गर, फ्राइड चिकेनजस्ता परिकारहरू युवापुस्तामाँझ अत्यन्त लोकप्रिय बनेका छन् । यी खाद्यवस्तुहरू स्वादिलो र आकर्षक देखिए पनि तिनीहरूमा अत्यधिक मात्रामा नुन, चिनी, बोसो तथा कृत्रिम रसायन मिसाइएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
आधुनिक बजारीया खानाले शरीरमा विभिन्न नकारात्मक असरहरू पारिरहेको छ । अत्यधिक बोसो र क्यालोरीयुक्त खानाले मोटोपना बढाएको छ । मोटोपना आफैमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग जस्ता दीर्घकालीन रोगहरूको प्रमुख कारण हो । प्रशोधित खानामा प्रयोग गरिने कृत्रिम रसायन तथा संरक्षक पदार्थहरूले पाचन प्रणालीमा समस्या उत्पन्न गर्नुका साथै क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढाउन सक्छन् । अत्यधिक चिनीको सेवनले दाँतको समस्या, मधुमेह र ऊर्जा असन्तुलन निम्त्याउँछ । पोषणको असन्तुलनका कारण बालबालिकामा कुपोषण तथा वयस्कहरूमा थकान, मानसिक तनाव र रोग प्रतिरोधात्मक क्षमतामा कमी देखिने चिकित्सक तथा स्वास्थ्य विज्ञहरूकाे भनाइ छ ।
यसका साथै, खानपान संस्कृतिमा आएको परिवर्तनले सामाजिक र सांस्कृतिक पक्षमा पनि असर पारेको छ । पहिले परिवारका सदस्यहरू एकैठाउँमा बसेर भोजन गर्ने परम्परा थियो, जसले आपसी सम्बन्धलाई मजबुत बनाउँथ्यो । तर अहिले फास्ट फुड र बाहिरी खानाको प्रचलनले यो परम्परा हराउँदै गएको छ । मानिसहरू व्यक्तिगत रूपमा, छिटोछरितो तर असन्तुलित भोजनतर्फ उन्मुख भइरहेका छन् ।
यस्ता समस्याबाट मुक्त हुनका लागि सर्वप्रथम सचेतना आवश्यक छ । मानिसहरूले आफूले खाने खानाको गुणस्तर र त्यसको स्वास्थ्यमा पर्ने प्रभावबारे जानकारी राख्नुपर्छ । विद्यालय तहदेखि नै पोषणसम्बन्धी शिक्षा प्रदान गरिनुपर्छ, जसले बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्न मद्दत गर्छ ।
त्यस्तै, परम्परागत तथा स्थानीय खानालाई पुनः प्राथमिकता दिनु आवश्यक छ । घरमै तयार गरिने ताजा खाना, मौसमी फलफूल तथा अन्नको सेवनले शरीरलाई आवश्यक पोषण दिन्छ । स्थानीय कृषिजन्य उत्पादनको प्रयोगले स्वास्थ्य मात्र होइन, अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछ ।
प्रशोधित तथा जङ्क फुडको सेवन घटाउनु अत्यन्त जरुरी छ । यसको सट्टा सन्तुलित आहार रोज्नुपर्छ, जसमा उचित मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन र खनिज पदार्थ हुनपर्छ । साथै, पर्याप्त पानी पिउने, नियमित व्यायाम गर्ने र समयमै भोजन गर्ने बानी बसाल्नु अत्यन्त आवश्यक छ ।
सरकार तथा सम्बन्धित निकायहरूले पनि खाद्य सुरक्षा र गुणस्तर नियन्त्रणमा कडाइ गर्नुपर्छ । बजारमा पाइने खाद्यवस्तुहरूको गुणस्तर परीक्षण, लेबलिङ प्रणालीको सुधार तथा अस्वस्थकर खानाको विज्ञापनमा नियन्त्रण आवश्यक छ । यसले उपभोक्तालाई सुरक्षित र स्वस्थ विकल्प छनोट गर्न सहयोग पुर्याउँछ ।
खानपान संस्कृतिमा आएको परिवर्तनलाई पूर्ण रूपमा रोक्न सम्भव छैन, किनकि परिवर्तन समयको आवश्यकता हो । तर यसलाई सन्तुलित र स्वस्थ दिशामा लैजान सकिन्छ । आधुनिकताको नाममा स्वास्थ्यलाई बेवास्ता गर्नु बुद्धिमानी होइन । परम्परा र आधुनिकताको समन्वय गर्दै स्वस्थ खानपान संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।
त्यसैले, हामी सबैले आफ्नो दैनिक जीवनमा सन्तुलित आहार, नियमित व्यायाम र सचेत जीवनशैली अपनाएर आधुनिक बजारीया खानाबाट उत्पन्न जोखिमहरूलाई कम गर्न काेसिस् गर्नुपर्छ । स्वस्थ शरीर नै सुखी जीवनको आधार हो भन्ने तथ्यलाई आत्मसात गर्दै, स्वस्थ खानपान संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लाग्नु आजको मुख्य आवश्यकता हाे ।
तस्बिर : एआई





