काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ । निर्वाचन आयोग नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुल्ुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताउनुभयो ।
राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गर्नुभयो । उहाँले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु, सुरक्षा निकायलगायतका सम्वद्ध सबै पक्षलाई आभार समेत व्यक्त गर्नुभयो ।





