काठमाडाैं । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब बन्ने सरकारले सीमा विवादलाई समाधान गर्न प्राथमिकतामा दिनुपर्ने बताउनुभएको छ । काठमाडौमा आयोजित कार्यक्रममा उहाँले विगतका सरकारहरूले नेपालको सीमा समस्या समाधानमा प्रगति गर्न नसकेको बताउनुभएको हो ।
अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले सीमासम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ । उहाँले लिपुलेक, कालापानी लिम्पियाधुरा रहेको चुच्चे नक्शा सार्वजनिक गरिएपनि जमिन फिर्ता ल्याउन नसकेको बताउनुभयो । उहाँले नयाँ सरकारले भारतसँग सशक्त रूपमा सीमा मुद्दा उठाएर औपचारिक वार्तामा लैजानुपर्ने आवश्यकता औँल्याउनु भयो । रास्वपाको चुनावी वाचापत्रमा पनि सीमा समस्या समाधान गर्ने प्रतिवद्धता उल्लेख भएकाले सोहीअनुसार अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका अतिक्रमित भूमी कुटनितिक माध्यामबाट नै फिर्ता ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ती क्षेत्रहरु नेपालको भूमि भएको पर्याप्त प्रमाण रहेको उहाँको भनाई छ । श्रेष्ठले सीमा विवाद समाधानका लागि भारतसँग मात्र नभई चीनसँग पनि वार्ता गर्न आवश्यक रहेको बताउनुभयो । लिपुलेक, कालापानी र लिम्पियाधुरा त्रिदेशीय क्षेत्र भएकोले चीनसँग पनि वार्ता गर्नुपर्ने उहाँको भनाई छ ।
नेपाल, भारत र चीनलाई समेटेर त्रिपक्षीय संयन्त्र गठन गर्नुपर्ने उहाँले बताउनु भयो । त्रिपक्षीय संयन्त्रले सीमा विवाद समाधन गर्ने उहाँको तर्क छ । त्यसको लागी नेपालले सबैभन्दा पहिला त्रिदेशीय बिन्दु औपचारिक रूपमा स्थापना गर्नुपर्ने उहाँले बताउनु भयो । विशेषगरी पश्चिम क्षेत्रमा पर्ने लिम्पियाधुरामा तीन देशको सीमा स्पष्ट निर्धारण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
उहाँले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको क्षेत्र सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लगेमा पनि नेपालले जित्ने दाबी गर्नुभयो । अमेरिका, बेलायत तथा चीनका विभिन्न संग्रालयमा उक्त भुमी नेपालको हुने प्रमाण रहेको उहाँले बताउनुभयो ।
सीमाविद श्रेष्ठले नयाँ बन्न लागेको संसद भवन अगाडी ग्रेटर नेपालको नक्शा राख्न पनि सुझाव दिनुभयो । काठमाडौंको मेयर हुँदा बालेन्द्र साहले कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेको उल्लेख गर्नुहुँदै उहाँले हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा राख्न पनि सकिने बताउनुभयो । उहाँले भारतले पनि संसद भवनमा पुरानो नक्शा राखेकोले नेपालले पनि राख्न सक्ने उल्लेख गर्नुभयो । सुगौली सन्धि नेपालका लागि असमान र दबाबमा भएको सम्झौता रहेको उल्लेख गर्दै उहाँले सुगौली सन्धिले नेपाललाई धेरै नोक्शान भएको बताउनुभयो । सोही सन्धीको कारण नेपालले आफ्नो भूमी गुमाउन पुगेको उहाँको भनाई छ ।
अंग्रेजहरुले भारत छाड्ने बेलामा सुगौली सन्धी खारेज गर्न राखेको प्रश्तावलाई तत्कालिन नेपालका राणाहरुले नमानेको उहाँको दाबी छ । श्रेष्ठले निर्माणाधीन संसद भवन अगाडि ग्रेटर नेपालको नक्सा राख्न र त्यसलाई ऐतिहासिक रूपमा प्रश्तुत गर्न सुझाव दिनुभयो । उहाँले नरेन्द्र मोदी नेतृत्वमा बनेको भारतको संसद परिसरमा पनि नेपालको लुम्बिनी क्षेत्रलाई भारततर्फ देखाइएको बताउनुभयो । उहाँले संसद भवन उद्घाटनका क्रममा ऐतिहासिक नेपालको नक्शा प्रदर्शन गर्दा राष्ट्रिय पहिचान र इतिहासबारे जनचेतना अभिवृद्धि हुने बताउनुभयो ।
उहाँले भारतले अतिक्रमण गरेको भूमीहरु नेपालको भएकोमा विश्व जानकार रहेको भएपनि भारतसंगको ठूलो व्यापारको कारण मौन रहेको बताउनु भयो । चीनले पनि भारतसँगको व्यापारको कारण सीमा विवादमा नेपाललाई सहयोग नगरेको उहाँको आरोप छ ।





