काठमाडाैं । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले महिला नेतृत्वका अनुभव, सिकाई र सङ्घर्षका विषयमा महिला विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो ।
फागुन २४ गते राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा ‘महिला बालबालिकाका लागि अधिकार न्याय र कार्यसहितको अवसर’ तय भएको छ । यसै सन्दर्भमा महानगरले ‘पावर इन एक्सनः हर टाइम इज नाउ’ शिर्षकमा कार्यक्रम गर्न लागेको प्रवक्ता मानन्धरले बताउनु भयो । कार्यक्रमको उद्घाटन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ ।
कार्यक्रममा प्रशासन, कानून, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन र हक अधिकारका क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरूले आफ्ना अनुभव सुनाउने उहाँले बताउनु भयो । राज्य प्रणालीको उपल्लो ओहोदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका अनुभवहरू कार्यक्रममा समेटिने उहाँको भनाइ छ ।
कार्यक्रममा ‘एक वडा एक नमूना उद्यम’ कार्यक्रम अन्तर्गतका पौरखी महिलाहरूको प्रतिनिधित्वमूलक जीवन्त कला प्रदर्शनी गरिनेछ । नेपालको महिला आन्दोलन तथा अधिकारका सङ्घर्षका उदाहरणीय महिला नेतृत्वहरूका विषयमा विवरण प्रदर्शन गरिनुका साथै क्युआर कोडमा आधारित प्रश्नावलीमार्फत सहभागीहरूबाट पृष्ठपोषण समेत सङ्कलन गरिने महानगरले जनाएको छ ।
लैङ्गिक समानता र न्यायका लागि ६ वटा कानून
पत्रकार सम्मेलनमा प्रवक्ता मानन्धरले लैङ्गिकमैत्री शहरी व्यवस्थापन र हिंसा न्युनिकरणका लागि महानगरले हालसम्म ६ वटा स्थानीय कानून तर्जुमा गरी राजपत्रमा प्रकाशन गरिसकेको जानकारी दिनुभयो । जसमा विवाद निरूपण कार्यविधि २०७५, मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८, वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका २०७९ र कानुन सहायता कार्यविधि २०८० रहेका छन् ।
यी कानून कार्यान्वयन गर्न न्यायिक समिति, वडा महिला सञ्जाल, मेलमिलाप कक्ष लगायतका संयन्त्र निर्माण गरिएका छन् । सबै वडामा मेलमिलाप कक्ष र महिला सञ्जाल गठन गरी केन्द्र र वडास्तरमा न्यायिक सहजकर्ता तथा विज्ञ कानून व्यवसायीमार्फत निःशुल्क कानूनी सहायता प्रदान गरिँदै आएको प्रवक्ता मानन्धरले बताउनुभयाे।
पत्रकार सम्मेलनका क्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यक्रमबाट प्राप्त हुने सुझावले महानगरपालिकाको आगामी नीति, योजना तथा कार्यक्रमलाई तथ्यमा आधारित बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताउनु भयो । उहाँले सबैलाई कार्यक्रममा उपस्थित हुन पनि आग्रह गर्नुभयो ।
डंगोलले महिला भएकै कारण नेतृत्वमा भेदभाव र दुव्र्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै हिंसा मुक्त र समतामूलक समाज निर्माण गर्न कार्यक्रम फलदायी हुने महानगरपालिकाको अपेक्षा रहेको बताउनुभयो ।





