आठ लाख नागरिकले उपत्यका छाेड्ने अनुमान, यातायात प्रणाली चुस्त राखिने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

आठ लाख नागरिकले उपत्यका छाेड्ने अनुमान, यातायात प्रणाली चुस्त राखिने

काठमाडाैं । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।

फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।
यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताउनु भयो । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उहाँको भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् ।

यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडीहरु चल्नेछन् ।
यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनावद्ध तवरले विभाग लागिरहेको बताउनु भयो ।

उहाँले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताउनु भयो ।

 

Leave a Reply