काठमाडौँ । नेकपा (एमाले) ले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति पार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले निर्वाचनको मिति कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको पनि बताउनु भयो । एमालेले निर्भयताका साथ निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएको छ ।
प्रचार संयोजक शाहीले भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा कुनैपनि विषय अगाडि सारेर निर्वाचन सार्ने जे हल्ला पिटाइँदैछ बजारमा । त्यो तपाईहरुले पनि सुन्नुभएको छ । त्यसकारण हामीले के भनेको हौ भने–फागुन २१ गते कुनैपनि बहानामा निर्वाचन सर्नु हुँदैन । फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भनेर भनेका हौँ । निर्वाचनको मिति सछै भन्ने एमालेलाई शंका छैन । तर जे हल्ला पिटाइएको छ । तपाईहरु सबैलाई निर्वाचन हुन्छ र भन्ने शंका छ । प्रत्येकलाई शंका छ यस्तो मनमा । तर त्यो शंकाको अन्त्य गर्ने काम सरकारको हो । निर्वाचन हुन्छ । शान्ति सुरक्षाको प्रत्याभूति हामी गर्छौैं । र मतदाताहरुले स्वतन्त्र र निर्भिक ढंगले, भयरहित ढंगले मतदाताले मतदान गर्न पाउँछन भन्ने अधिकारको सुरक्षित गर्ने काम, त्यो अधिकारलाई प्रत्याभूत गराउने काम सरकारको हो । त्यसकारण हामी फेरि पनि भन्छौँ–निर्वाचन कुनैपनि बहानामा सर्नु हुँदैन । कुन षड्यन्त्रका साथ हो हल्ला पिटाइएको छ, हामी त्यो प्रश्न गर्न चाहन्छौँ ।’
एमालेले आसन्न निर्वाचनमा पार्टीले बहुमत ल्याउने र सरकार बनाउने दावी पनि गर्दै आएको छ । प्रचार विभागका संयोजक शाहीले निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने जिकिर गर्नुभयो ।




