‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि शुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्नुभयो । निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण शक्ति लगाएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपील गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले बुद्धिजीवी, नागरिक समाज, जेन—जी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दै वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्न हातेमालो गर्न सबैमा आह्वान गर्नुभयो ।

Leave a Reply