काठमाडाैं ।
नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।नेपाल कानून समाजले मंगलवार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले मौसम लगायतको कारण हिमाली क्षेत्रमा निर्वाचन सार्नुपर्ने बताउनुभएको हो । नेता सिलवालले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको तयारीले अब मुलुक निर्वाचनमा प्रवेश गरिसकेको निष्कर्षमा पुग्न सकिने बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा भौगोलिक चुनौतिबाहेक अब अन्य सुरक्षा चुनौतिका कारण निर्वाचन रोकिने अवस्था नरहेको बताउनु भयो । उहाँले संसद पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा पेश भएको मुद्दाको सुनुवाई नभएको भने असन्तुष्टी जनाउनु भयो । अदालतले समयमै स्पष्ट धारणा राख्न सकेमा न्यायालयको गरिमा अझ बढ्ने उहाँको भनाई छ ।
अदालतले मुद्दा आइसकेपछि त्यसलाई ‘एस अर नो’ के हो भन्ने विषयमा स्पष्ट रुपमा समयमा नै फैसला गर्न आवश्यक रहेको बताउनु भयो । सिलवालले बंगलादेशमा सन् २०२४ को अगस्तमा भएको हिंसा र त्यसपछि बनेको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न नसकेको उल्लेख गर्नुभयो । तर नेपालमा भने भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पनि संविधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको बताउनु भयो । वर्तमान संविधानअनुसार नै नयाँ र पुराना शक्तिहरु एक ठाउँमा आएर निर्वाचनमा होमिनुले नेपाल शान्तिपूर्ण भएको सन्देश दिन सकिने बताउनु भयो । उहाँले निर्वाचनपछि आउने परिणाम भने मिश्रित हुने हुँदा जेनजी आन्दोलनमा उठेका मुद्दाहरु संम्बोधन गर्न नसकिने बताउनु भयो । उहाँले हालको निर्वाचन प्रणालीले एउटै राजनितिक दलले बहुमत ल्याउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले बहुमत ल्याउन नसक्दा आफ्ना घोषणापत्र लागू गर्न पनि दलहरुलाई समस्या भएको उल्लेख गर्नुभयो ।





