काठमाडाैं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलन गर्दै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी–२,
रौतहट–१ र कैलाली–१ मा एक÷एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन् ।
उजुरी पर्नेहरूमा रौतहटबाट उम्मेदवारी दिनुभएका नेकपाका सहसंयोजक माधवकुमार नेपाल, कैलाली निर्वाचन क्षेत्र नं. १ का नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, रास्वपा भक्तपुर–२ का उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाटै उम्मेदवारी दिएका नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठक र रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापा रहेको निर्वाचन आयोगले जनाएको छ ।
शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।





