काठमाडाैं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । बिहीवारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताउनुभयो । उहाँले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्नुभयो । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग राख्नुभयो ।
महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने पनि बताउनुभयो । राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताउनुभयो । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उहाँको भनाइ छ ।
महासचिव चन्दले नेपाली राजनीति र कम्युनिष्ट आन्दोलन भूराजनीतिको चपेटामा परेको बताउनुभयो ।





