ध्यान : आन्तरिक शान्ति र सकारात्मक समाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

ध्यान : आन्तरिक शान्ति र सकारात्मक समाज

शान्त मनबाट शुरु हुने परिवर्तन नै समृद्ध व्यक्ति, स्वस्थ समाज र शान्त विश्वतर्फको पहिलो कदम हो । जीवन परिवर्तनको लक्ष्यलाई आत्मसाथ गरी दैनिक थोरै समय ध्यानको अभ्यास गर्न सके मानसिक स्वास्थ्य, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको मार्ग थप बलियो बनाउन सकिन्छ । 

 

-माेहनप्रसाद मैनाली
मानव सभ्यतासँगै विकसित भएको आत्मिक अभ्यासनै ध्यान हो, जसले मानिसलाई बाहिरी संसारको कोलाहलबाट भित्रको शान्त संसारतर्फ डो¥याउँछ । ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो वास्तविक आत्माको अनुभूति गरी आत्मसाक्षात्कार गर्छन् भने अरूले ज्ञानको मार्ग, योगको मार्ग वा कर्मको मार्गबाट त्यही लक्ष्यमा पुग्छन् । यी सबै मार्गहरूको केन्द्रमा ध्यान नै रहेको देखिन्छ । आजको तीव्र, प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीमा ध्यान केवल आध्यात्मिक अभ्यास मात्र नभई मानसिक सन्तुलनको आधार बनेको छ ।

आत्मा साक्षात्कारको अर्थ धार्मिक वा दार्शनिक अनुभूति मात्र होइन, आफ्नै मन, भावना र चेतनालाई बुझ्ने प्रक्रिया पनि हो । ध्यानले मानिसलाई आफ्नो विचार, डर, आकांक्षा र भावनासँग साक्षी भावमा बस्न सिकाउँछ । जब मन शान्त हुन्छ, तब आत्मचिन्तन सहज हुन्छ र व्यक्तिले आफ्नो जीवनको उद्देश्य प्रष्ट रूपमा देख्न थाल्छ । ज्ञान, योग र कर्मका मार्गहरू फरक देखिए पनि तिनको अन्तिम लक्ष्य चेतनाको उन्नति र आन्तरिक शान्ति नै हो । ध्यान तिनै लक्ष्यको साझा आधार हो ।
आज तनाव, चिन्ता, पीडा, अनिद्राजस्ता मानसिक समस्याहरू विश्वव्यापी रूपमा बढिरहेका छन् । यस्तो अवस्थामा ध्यान सरल, सुलभ र प्रभावकारी उपायका रूपमा स्थापित भइरहेको छ । नियमित ध्यान अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पु¥याउनुका साथै मानसिक दृढता र भावनात्मक सन्तुलन विकास गर्छ ।

ध्यानको अर्को महत्वपूर्ण पक्ष एकाग्रता वृद्धि हो । डिजिटल युगमा मानिसको ध्यान क्षण–क्षणमा विचलित हुन्छ । मोबाइल, सामाजिक सञ्जाल र सूचनाको अत्यधिक प्रवाहले मनलाई अस्थिर बनाइरहेको छ । ध्यानले मनलाई वर्तमान क्षणमा केन्द्रित गराउँछ, जसले पढाइ, कर्म र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्छ । विद्यार्थी, राजनीतिककर्मी, पेशाकर्मी र सिर्जनात्मक क्षेत्रमा संलग्न सबैका लागि ध्यान एकाग्रताको शक्तिशाली साधन मान्न सकिन्छ ।

आन्तरिक शान्ति ध्यानको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । बाहिरी परिस्थितिहरू सधैँ हाम्रो नियन्त्रणमा हुँदैनन्, तर आफ्नो प्रतिक्रिया र मनको अवस्था हामी नियन्त्रण गर्न सक्छौँ । ध्यानले यही क्षमताको विकास गराउँछ । शान्त मनले द्वन्द्व, क्रोध र असहिष्णुतालाई कम गर्छ । जब व्यक्ति शान्त हुन्छ, समाजमा पनि सकारात्मक ऊर्जा फैलिन्छ । यस अर्थमा ध्यान व्यक्तिगत अभ्यास मात्र नभई सामाजिक रूपान्तरणको माध्यम पनि हो ।

सामूहिक ध्यानले सहभागिहरूमा एकता, सहकार्य र सामूहिक चेतनाको अनुभूति गराउँछ । यसले ध्यानलाई व्यक्तिगत कोठाबाट समाजको खुला स्थानसम्म पुर्याउँछ । सामूहिक अभ्यासले नयाँ सिक्न चाहनेहरूलाई प्रेरणा दिन्छ र अनुभवी साधकसँग अनुभव साट्ने अवसर प्रदान गर्छ ।

ध्यानको फाइदा उमेरको सीमाभित्र बाँधिएको छैन । बच्चादेखि वृद्धसम्म सबैले ध्यानबाट लाभ लिन सक्छन् । बालबालिकामा ध्यानले अनुशासन, स्मरण शक्ति र भावनात्मक सन्तुलन बढाउँछ । युवामा आत्मविश्वास र लक्ष्यप्रति प्रष्टता ल्याउँछ । वृद्ध अवस्थामा ध्यानले मानसिक शान्ति र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्याउँछ । ध्यान कुनै विशेष धर्म, संस्कृति वा समुदायमा सीमित अभ्यास होइन । यो मानवताको साझा सम्पदा हो ।

ध्यान र मानसिक शान्ति एक–आपसमा गहिरो रूपमा जोडिएका छन् । नियमित अभ्यासले मानिसलाई सजगतापूर्वक बाँच्न सिकाउँछ । प्रतिक्रियात्मक जीवनशैलीबाट सचेत जीवनशैलीतर्फको यो रूपान्तरण आजको समाजको आवश्यकता हो ।

Leave a Reply