काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताउनु भयो । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उहाँले आशंका जनाउनुभयो । सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उहाँको भनाइ छ ।
प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्नुहुँदै उहाँले निर्वाचन हुनेमा शंका व्यक्त गर्नुभयो । उहाँले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि जोड दिनुभयो । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले जेन–जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले जेन–जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडी नबढाएको आरोप पनि लगाउनु भयो । यो सरकारले जेन–जीका माग पूरा गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनमार्फत नयाँशक्तिको उदय हुनुपर्नेमा पुरानै शक्तिहरु सलबलाउन थालेको पनि बताउनुभयो ।





