एमालेको ११ औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

एमालेको ११ औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो

काठमाडाैं । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा शुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताउनुभयो । लाखौँको संख्यामा नेता, कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताउनुभयो ।

असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताउनुभयो । महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताउनुभयो । बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पनन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताउनुभयो ।

उहाँले नेकपा एमालेले युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताउनुभयो । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको बताउनुभयो ।

Leave a Reply