काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेन–जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको छ । बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर राप्रपाले राजा, राजनीतिक दल र जेन–जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न दबाब दिएको हो ।
अन्तरिम सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै नबनेको स्पष्ट पारेको पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताउनुभयो । निर्वाचन नै समस्याको समाधान नभएको उहाँको भनाइ छ । अन्तरिम सरकारले देशलाई दीर्घकालीन निकास दिनुपर्ने बताउनुभयो । राप्रपाले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुले मदतदान गर्न पाउने व्यवस्था गर्न पनि माग गरेको छ ।
अध्यक्ष लिङदेनले जेन जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरु भएकाले उनीहरुको मागलाई सम्बोधन गर्न पनि आग्रह गरेको छ । जेनजी प्रदर्शनमा सहभागी भएकै आधारमा मानिसहरु पक्रिने र दुःख दिने काम भएको बताउनुभयो । राप्रपाले प्रदर्शनमा मात्रै सहभागी भएकै आधारमा पक्रिने काम गर्न पनि आग्रह गरेको छ । जेन–जीका प्रमुख व्यक्तिहरुलाई नै सिंहदरबार प्रवेश गर्न नदिने, लछारपछार गर्ने काम भइरहेको भन्दै यस्तो काम बन्द गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
अध्यक्ष लिङदेनले सरकारका बारेमा राप्रपाले मंसिर २३ गते काठमाडौंमा ध्यानाकर्षण सभा गर्ने र देशभर यस प्रकारका सभाहरु आयोजना गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको बताउनुभयो ।
अध्यक्ष लिङदेनले राजासहितको सर्वपक्षिय छलफलबारे प्रधानमन्त्री कार्कीले यसबारेमा अहिले केही नसोचेको र आफ्नो क्षेत्र नभएको बताउनुभएको जानकारी दिनुभयो । सरकार प्रमुखको नाताले सबै पक्षलाई बोलाएर समाधान निकाल्न संयोजनको काम भएको आफूहरुले बताएको बताउनुभयो ।





