काठमाडौंको बढ्दो ट्राफिक जाम, समाधान कता हरायो ? | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौंको बढ्दो ट्राफिक जाम, समाधान कता हरायो ?

काठमाडौं उपत्यकाको ट्राफिक जाम दीर्घकालीन समस्याको रुपमा देखा परेको छ । सवारीसाधनको अनियन्त्रित वृद्धि, अपर्याप्त सडक संरचना, अव्यवस्थित सार्वजनिक यातायात, गलत पार्किङ तथा सवारी अनुशासनको अभावका कारण गम्भीर बन्दै गएको छ, जसले आमसर्वसाधारणको समय, स्वास्थ्य, आर्थिक गतिविधि र वातावरणमासमेत नकारात्मक असर पारिरहेको छ । 

काठमाडौं उपत्यकाको सुन्दरता ऐतिहासिक देवालय, पहाड र सांस्कृतिक सम्पदामा मात्र सीमित छैन; यसको भित्री यथार्थमा ट्राफिक जाम जस्तो दीर्घकालीन समस्या पनि गहिरोसँग गाँसिएको छ । पछिल्ला वर्षहरूमा यो समस्या थप व्यापक बन्दै गएको छ । कार्यालय जाने, विद्यालय आउने–जानेदेखि घरायसी कामसम्म, सधैँजसो आमसर्वसाधारणहरु जाममा अल्झित बाध्य छन् । सडकमा बितेको समय यात्राको एक भाग मात्रै नभइ दैनिक जीवनको अनिवार्य प्रतीक बन्न पुगेको छ ।

उपत्यकामा ट्राफिक जाम बढ्नुको कारणहरू धेरै छन् । सबभन्दा ठूलो कारण सवारी साधनको अनियन्त्रित वृद्धि हो । तीव्र रूपमा बढिरहेको जनसंख्याका कारण बसोबास अनियन्त्रित र सघनतर्फ उन्मुख हुँदैछ । सार्वजनिक यातायात प्रणाली विश्वसनीय हुन नसक्दा निजी सवारीतर्फ आकर्षण बढ्दो छ । तर सवारी साधनको चाप अनुसार सडक संरचना विस्तार हुने सकेको छैन, वैकल्पिक मार्गहरुको योजना कागजमै सीमित छन् । धेरै स्थानमा सडक मर्मत नियमित हुँदैन र विस्तारका कामहरू समयमै पूरा हुन नसक्दा सडकको भार क्षमता घटिरहेको छ । बिग्रिरहने ट्राफिक लाइट तथा आधुनिक प्रविधिको न्यून उपयोगले ट्राफिक जामलाई थप जटिल बनाएको छ ।

जामको अर्को कारण गलत पार्किङ र सवारी अनुशासनको अभाव हो । सडकको छेउछाउमा यत्रतत्र पार्किङ गरिएका निजी सवारीसाधनले सडकनै कुरुप बनाइरहेका हुन्छन् । कतिपय सडक छेउमा व्यवसायिक सामग्री राखिएका हुन्छन् । सवारी चालकहरूले लेन अनुशासन नमान्ने, आकस्मिक ओभरटेक गर्ने, साना गल्लीमा अनावश्यक हर्न बजाउँदै बाटो जाम गर्ने गतिविधिले शहरको ट्राफिक थप अस्तव्यस्त बनाएको छ । सार्वजनिक बसहरू तोकिएको स्थानमा मात्रै नरोकी जताततै यात्रु चढाउने र ओराल्ने प्रवृत्तिले सवारीको प्रवाहलाई निरन्तर अवरुद्ध गर्छ ।

ट्राफिक जामका कारण दैनिक रूपमा आमसर्वसाधारणले आफ्नो महत्वपूर्ण समय सडकमै बिताउँन बाध्य हुन्छन्, जसले मानसिक तनाव बढाउँछ । कार्यालयका काम, व्यावसायिक कार्यक्रम, चिकित्सकीय सेवा, आपतकालीन उद्धारलगायत सबै क्षेत्र प्रभावित हुन्छन् । जामका कारण इन्धनको खपत अत्यधिक बढ्छ, जसबाट आर्थिक क्षति र प्रदूषण तीव्र गतिले बढ्छ । लामो समय जाममा अड्किएका सवारी साधनहरूले उत्सर्जन गर्ने धुवाँले काठमाडौंको वायु प्रदुषणलाई थप विषालु बनाउँदै लगेको छ, जसले साधारण रुघाखोकीदेखि एलर्जी, मुटुरोगलगायत गम्भीर दीर्घकालीन रोगहरु निम्त्याइरहेको छ ।

ट्रफिक जामको समस्या समाधानका लागि समय समयमा प्रयास पनि भइरहेका छन् तर ति प्रयासहरु दीर्घकालीन योजना र कार्यान्वयनको अभावमा अधुरै रहन्छन् । व्यवस्थित सवारी प्रणाली, प्रभावकारी ट्राफिक प्रविधि तथा प्रष्ट नीतिबारे छलफल हुन्छ, तर यसको निरन्तरता र कार्यान्वयन अधुरोनै रहने गरेका छन् । नीतिगत सुधारहरू कागजमै सीमित रहन्छन्, कार्यान्वयन कमजोर रहन्छ ।

दक्ष, नियमित र भरपर्दो सार्वजनिक यातायात सञ्चालन हुन सकेमा निजी सवारीको दबाब स्वाभाविक रूपमा घट्छ । अहिले देखिने अव्यवस्थित माइक्रोबस, सवारीको भीड र यात्रुहरूको जोखिमपूर्ण बस चढ्ने र ओर्लिने अवस्थालाई प्रतिस्थापन गर्दै महानगरले दिगो बस सेवा सञ्चालन गर्न आवश्यक छ ।

स्मार्ट ट्राफिक प्रविधिको उपयोग अनिवार्य गर्नुपर्छ । स्वचालित ट्राफिक सिग्नल, वास्तविक समयसहितको ट्राफिक मोनिटरिङ र डाटा विश्लेषणका आधारमा सडक व्यवस्थापनले जाम घटाउन मद्दत गर्छ । अन्तर्राष्ट्रिय रूपमा सफल मोडेलहरू काठमाडौंमा पनि लागू गर्न आवश्यक देखिन्छ ।

काठमाडौंको ट्राफिक समस्या शहरको मात्र नभइ राष्ट्रको दीर्घकालीन विकाससँग सम्बन्धित चुनौती हो । आजको असहजता भोलिको संकट बन्न नदिन दिगो, वैज्ञानिक र प्राविधिक रूपमा प्रभावकारी समाधान अपनाउन आवश्यक छ ।

Leave a Reply