काठमाडाैं । सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ । संघीय सरकारले टुक्रे योजनाहरुका बजेट कटौती गर्ने निर्णय गरेको थियो । निर्णयप्रति बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरु कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने बताउनुभयो । कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसंग प्रष्टिकरण माग्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताउनुभयो । उहाँले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल जानकारी दिनुभयो ।
उहाँले समितिमा विगतमा भईरहेका छलफलहरुलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागि सरकारकालाई निर्देशन दिने उहाँको भनाइ छ ।
उहाँले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताउनुभयो । बैठक सञ्चालनको लागी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहनुभएको उहाँको भनाइ छ । जेन-जी आन्दोलन पश्चात पहिलो पटक समितिको बैठक बसेको हो ।





