नेपालीहरुको महान र पवित्र पर्व तिहारको समयमा खेलिने देउसी–भैलो संस्कृति विश्वमै फरक र अनौठो संस्कृतिको रुपमा लिइन्छ । यमपञ्चक अर्थात् पाँच दिन मनाइने यो पर्वको प्रमुख आकर्षण मध्ये देउसी भैलो पनि एक हो । घरघरमा गएर देउसी भट्याउने, नाच्ने र आशीर्वाद दिँदै दक्षिणा लिने संस्कारले नेपालीहरुलाई सामाजिक एकता, मेलमिलाप र सहकार्यको संस्कृतिलाई बलियो बनाएको छ ।
नेपालमा प्रत्येक वर्ष तिहारको अवसरमा देउसी–भैलोको परम्परा विशेष रूपमा मनाइन्छ । तिहारको दोस्रो दिनदेखि पाँचौँ दिनसम्म नेपालभर मात्र नभइ नेपालीको अस्तित्व भएको विश्वभर यो परम्पराले निरन्तरता पाएको छ । देउसी–भैलो खेल मात्र नभइ हाम्रो सांस्कृतिक धरोहर र सामाजिक एकताको महत्वपूर्ण प्रतीक हो ।
देउसी–भैलोको परम्परा विशेष गरी सनातन हिन्दू धर्मसँग जोडिएको भएपनि अहिले सबैको साझा पर्व बन्दै गएको छ । प्राचीनकालमा राजा बलीको शासनकालमा यो परम्परा शुरु भएको लोकोक्ति छ । राजा बलीले आफ्नो जनताका लागि सद्भाव र समृद्धिको कामना गर्दै, देउसी–भैलोको माध्यमबाट उनीहरूको मंगलको कामना गरेकाले त्यही समयदेखि देउसीभैलोको परम्परा बसेको मानिन्छ । देउसीभैलो भनेको दान र भगवानको पूजा गर्ने एक प्रकारको गीत र नृत्य हो ।
तिहारको समयमा खेलिने देउसी–भैलोको संस्कृतिले समाजमा एकता र सद्भावको सन्देश फैलाउँछ । बच्चादेखि बृद्धसम्म सबै मिलेर खेलिने देउसी–भैलोले सामाजिक सम्बन्धलाई बलियो बनाउँछ र एक अर्काप्रति प्रेम र सद्भावको भावना उत्पन्न गर्छ । विशेषगरी, विभिन्न जाति र समुदायका मानिसहरू एकसाथ खेल्ने हुँदा राष्ट्रिय एकता र भाइचारा पनि बलियो हुने गरेको छ ।
देउसी गीत र नृत्यले धार्मिक आस्थामा आधारित सकारात्मक ऊर्जा र प्राचीन संस्कृतिका प्रतीकहरू प्रस्तुत गर्छ । यसले जीवनमा खुशी, समृद्धि र सुखको कामना गर्छ । देउसी गीतमा देवता, यमराज र राजाको पूजा र सम्मान गरिएको हुन्छ, जसले नेपालको धार्मिक विविधता र समृद्धि प्रतिबिम्वित गर्छ । परम्परागत रूपमा देउसी–भैलो गाउनेहरूलाई घर–घरबाट दान प्राप्त हुन्छ जुन आर्थिक सहयोग पु¥याउने नभइ मानवीय सहकार्य र साझेदारीको भावना उत्पन्न गर्छ । दानले यस पर्वको सन्देशलाई थप प्रभावकारी बनाउँछ, जसले समाजमा दान र सहयोगको महत्वलाई प्रोत्साहन गर्छ । देउसीभैलो हाम्रो सांस्कृतिक विशेषता हो, आन्तरिक मेलमिलापको उत्सव, खुशी र आर्शीवादको स्वरूप हो ।
देउसीभैलो संस्कृतिले सामाजिक र नैतिक सन्देश पनि प्रवाह गर्दै आएको छ । यो मनोरञ्जन मात्र नभइ समुदायभित्र सहयोग, भाइचारा, सहकार्य र मानवता सम्बन्धी भाव जागृत गर्ने माध्यम हो, समाजलाई जिवन्त बनाउने उत्सव हो । देउसीभैलो केवल तिहारको थप आकर्षण मात्र होइन, यो हाम्रो अस्तित्व हो, जीवन जिउने लय र पद्धती हो । पाँच दिनसम्म चल्ने यो परम्परा नेपाली जनजीवनलाई उज्यालो बनाउने, मेलमिलाप र सामाजिक सद्भावलाई उच्च बनाउने सामाजिक मञ्च पनि हो । देउसीभैलो मनोरञ्जनको माध्यम मात्र नभइ, नेपालीको सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धन गरी सांस्कृतिक धरोहरलाई उज्यालो बनाउन आवश्यक ।





