जनताले सरकारसँग आशा गर्नु स्वाभाविक हो, तर त्यो आशालाई मूर्तरूप दिन सकारात्मक सोच, धैर्यता र खबरदारी पनि जरूरी छ । लोकतन्त्रमा जनताको विश्वास नै परिवर्तनको मूल स्रोत भएकाले सरकार गठन भएको निश्चित अवधिसम्म आलोचना नगरी सरकारलाई विश्वास र काम गर्ने अवसर दिन आवश्यक छ ।
सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारप्रति जनताको अपेक्षा स्वाभाविक रूपमा उच्च छ । विशेषतः जेन जेड आन्दोलनबाट उत्पन्न जनदबाब र राजनीतिक मन्थनको परिणामस्वरूप बनेको यो सरकारबाट धेरैले तत्काल सुधारको अपेक्षा गरेका छन् । तर लोकतान्त्रिक अभ्यासमा, जुनसुकै नयाँ सरकारलाई काम गर्ने आधार र समय दिनु जरुरी हुन्छ । विश्व राजनीतिक परम्परामा पनि नयाँ सरकारलाई सुरुवाती सय दिन हनीमून अवधिका रुपमा लिइन्छ, जहाँ सरकारमाथि आलोचना होइन, आशा र भरोषा राखिन्छ ।
सरकार गठन भएको एक महिना पनि नपुगेको अवस्थामा हतारहतार आलोचना गर्नु, दबाब सिर्जना गर्नु वा निर्णय प्रक्रियामा अवरोध पुर्याउनुलाई लोकतान्त्रिक प्रक्रिया भनिदैन । विषम राजनीतिक परिस्थितिको समयमा गठन भएकाले निश्चितरुपमा वर्तमान सरकार राजनीतिक दलभन्दा बाहिरबाट बनेको छ । तर सरकारको निश्चित कार्यादेश र अवधि भएकाले जनताले सरकारलाई काम गर्ने वातावरण दिनुपर्छ, जसबाट सरकारका प्राथमिकता, नीति र कार्यशैली प्रष्ट देखिने अवस्था सिर्जना हुन्छ । यस अवधिमा राजनीतिक दल, सचेत र बौद्धिक नागरिक समाज तथा सञ्चारमाध्यमहरुको भूमिका सकारात्मक खबरदारी र निगरानीको हुनुपर्छ, जसले सरकारलाई दिशानिर्देश गर्न सक्छ, कमजोर पक्ष औंल्याउँछ, तर अविश्वास फैलाउँदैन ।
वर्तमान सरकारको प्रमुख जिम्मेवारी भनेकै फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनु हो । यो सरकार पूर्णकालिक होइन, संक्रमण व्यवस्थापन गर्ने सरकार हो, जसको सफलता नेपाली लोकतन्त्रको स्थायित्वसँग जोडिएको छ । सरकार गठनसँगै राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूबीच संवादको पहल गरेका छन् । सरकार र राजनीतिक दलबीच सम्बादको वातावरण निर्माण गर्न राष्ट्रपतिले समन्वयकारी भूमिका निर्वाह गरी निर्वाचनको वातावरण बनाउने कोसिस गरेका छन् । यी सबै सकारात्मक संकेतहरू हुन् जसले राजनीतिक सहमतिको आधार बलियो र सुदृढ बनाउँदै लगेको छ ।
प्रधानमन्त्री कार्की नेतृत्वको वर्तमान सरकार पारदर्शिता, विधिसम्मत कार्यशैली र समावेशी सोचप्रति प्रतिबद्ध भएको देखिन्छ । आवेशमा आएर कुनै किसिमको राजनीतिक निर्णय लिएको देखिएको छैन । सरकारको नेतृत्वमा देखिएको संयमता, कुनैपनि विषयमा तत्काल निर्णय नगरी परामर्श गर्ने शैली र प्रशासनिक अनुभव बोकेको नेतृत्वले सरकारलाई तुलनात्मक रूपले विश्वासिलो वातावरण निर्माण गरेको देखिन्छ ।
यद्यपि आशा मात्रै गरेर बस्न सकिने अवस्था छैन । सरकारप्रति सकारात्मक जनदबाब र खबरदारी निरन्तर हुनुपर्छ । विशेषगरी, आन्दोलनकारी जेन जी अभियानसँग जोडिएका युवा नेताहरूले सरकारमाथि निगरानी राख्नु पर्छ, खबरदारी गर्नुपर्छ । सरकार गठन भएको मूल जग आन्दोलन नै भएकाले ती मागहरूलाई कार्यान्वयनतर्फ लैजान दबाब दिनु उनीहरूको ऐतिहासिक र नैतिक जिम्मेवारी हो । खबरदारी भनेको अविश्वास होइन, यो जनभावनाको प्रतिनिधित्व हो ।
साथै, वर्तमान सरकारजत्तिकै जिम्मेवारी राजनीतिक दलहरूमाथि पनि छ । जनताले अब पुराना, भ्रष्ट, जनविमुख नेतृत्व देख्न चाहँदैनन् । राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्न ढिलाइ गर्नु हुँदैन । चुनावको तयारीसँगै उम्मेदवार छनोटमा नयाँपन, स्वच्छ छवि र विचारशील नेतृत्व अगाडि ल्याउनुको विकल्प छैन । सुशासन र जवाफदेही नेतृत्व नै जनविश्वास पुनःस्थापना गर्ने माध्यम हो ।
सरकारलाई काम गर्ने समय दिनु आजको आवश्यकता हो । यसले सरकारलाई योजना बनाउन, समन्वय गर्न र कार्यान्वयनमा उत्रन सहजता दिन्छ । हरेक दिन आलोचना, अफवाह र अनावश्यक विवाद गरेर वातावरण बिगार्ने कोसिस् हुन्छ भने सरकार असफल हुन सक्छ, र त्यसको असर राष्ट्र र सम्पूर्ण नागरिकले व्यहोर्नुपर्छ । लोकतन्त्रमा सरकारको आलोचना आवश्यक छ, तर त्यो समयमा, सन्दर्भमा र उद्देश्यमा टेकेर हुन आवश्यक छ ।





