मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसर : माओवादी नेता सापकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसर : माओवादी नेता सापकोटा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले तोकिएकै समयमा सरकारले निर्वाचन गराउनेमा शंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारले निर्वाचनको लागि वातावरण नबनाएको बताउनुभयो । सरकारले राजनीतिक दलहरुसँग संवाद गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । तर हालसम्म सरकारले राजनीतिक दलहरुसँग औपचारिक तथा अनौपचारिक कुनै प्रकारका संवाद नगरेको उहाँले जानकारी दिनुभयो । दलहरुले निर्वाचनलाई स्वीकार गरेर निर्वाचनमा जाने वातावरण नबनेसम्म सरकारको प्राविधिक तयारीले मात्रै निर्वाचनको माहोल नबन्ने उहाँले बताउनुभयो ।

लोकतन्त्रको हिस्सेदार राजनीतिक दल नै भएकोले सरकारले राजनितिक दललाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने उहाँको भनाई छ । कुन दललाई कुन स्थानमा पु¥याउने भन्ने तय निर्वाचनमार्फत जनताले गर्ने उहाँले बताउनुभयो । दलहरुमार्फत नै जनताले आफ्ना अभिमत र प्रतिनिधि छान्ने प्रक्रिया रहेकाले दलहरुसँग छलफल गरेर निर्वाचनको वातारण बनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । सरकारले दलहरुसँग संवाद समेत नगरी निर्वाचनको मिति घोषणा भएकोले यहि परिस्थितिमा निर्वाचन हुनेमा प्रश्न उठेको उहाँको भनाई छ ।

उहाँले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकोले निर्वाचन गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको समयमा निवार्चन नभएमा के हुन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो ।

राजनीतिक दलहरुले पनि जेन जीहरुसँग संवाद गर्न ढिलाइ गर्नुहुन्न  
नेता सापकोटाले राजनीतिक दलहरुले पनि जेन जीहरुसँग संवाद गर्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक जेन जीहरुको पहिचान गरेर संवााद गर्न ढिला भइसकेको बताउनु भयो । जेन जीहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न राजनितिक दलहरु तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जेन जीको एजेण्डाहरु हाईज्याक हुने खतरा बढ्दै गएको बताउनुहुँदै उहाँले राजनितिक दलहरुले जेन जीहरुसँग औपचारिक, अनौपचारिक सम्बाद अगाडी बढाउन आग्रह गर्नुभयो ।

उहाँले जेन जीहरुसँग सबै राजनितिक दलका युवा प्रतिनिधिहरुले सर्वपक्षिय राजनितिक सम्मेलन नै आयोजना गर्न पनि प्रश्ताव राख्नुभयो । जेन जीहरुले उठाएका जायज मगलाई कसरी एड्रेस गरेर जान सकिन्छ ? निर्वाचनमा जाँदा समान मुद्दाहरु के हुन सक्दछन् ? संविधानको संशोधन गर्ने विषयहरु के हुन सक्छन् ? हाल भएको विध्वंशको पुनःनिर्माणको मार्गचित्र के हुन सक्दछ ? समृद्धिका मुद्दाहरु के हुन सक्दछन् ? हामी सुशासनको सुनिश्चितता कसरी गछौँ ? लगायतका विषयमा जेन जीका प्रतिनिधिहरु र राजनितिक दलका नयाँ पुस्ताका प्रतिनिधिहरुसहितको एउटा वृहत भेला गर्न जरुरी रहेको उहाँले बताउनुभयाे।

उहाँले राजनितिक दलका युवा पुस्ता र जेन जीका प्रतिनिधिहरुबीच गोलमेच सम्मेलन गरेर एउटा राष्ट्रिय संकल्प गरिएमा हाल जेनजीका एजेण्डालाई हाईज्याक गर्ने, अराजकतातिर लैजाने, प्रतिशोध साँध्ने र सिंगो राष्ट्रलाई नै अराजकताको दिशातिर लैजाने प्रवित्तिको अन्त्य गर्न सकिने बताउनुभयो ।

मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसर 
सरकार प्रतिशोधको भावनाबाट ग्रसित भएर समाजमा मुठभेडको अवस्था सिर्जना गर्न अग्रसर भएको नेता सापकोटाको आरोप छ । उहाँले कोही कसैको लहडमा राज्य लाग्न नहुनेमा जोड दिनुभयो । पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरुलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उहाँको भनाई छ । जेनजी आन्दोलनको अगुवाको नाममा हामी नेपाल नामक

एनजिओका संस्थापक सुदन गुरुङका गतिविधिप्रति लक्षित गर्दै उहाँले विधि भन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउनुभयो । हामी नेपालका गुरुङले पछिल्लो समय सरकारलाई अनावश्यक दबाबमा पार्ने कार्य गरिरहेका छन् । निःवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न उनले दबाब सिर्जना गरिरहेका छन् । गुरुङको गतिविधिप्रति सापकोटाले असन्तुष्टी जनाउनुभयो । उहाँले विधिमाथि कोही नभएको उल्लेख गर्नुभयो । जेन जी आन्दोलनका क्रममा भएको नरसंहारको छानविन बन्न आयोग बनिसकेको उल्लेख गर्नुहुँदै उहाँले आयोगका प्रतिवेदनका आधारमा दोषी ठहर भएमा कारबाही गर्न सकिने बताउनुभयो ।

एउटा कोही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनुपर्छ भनेकै भरमा राज्य भावनामा बगेर, प्रभावित भएर त्यतातिर लाग्न नहुने उहाँको भनाइ छ । कानून मूल्य मान्यतालाई नजरअन्दाज गरेर अगाडी बढेमा त्यसले समाजमा मुठभेडको स्थिति सिर्जना गर्ने उहाँले बताउनुभयो । यसले अस्थिरता सिर्जना गर्ने, मुठभेडको वातावरण बनाउने, बदला, प्रतिशोधको परिस्थिति सिर्जना गर्ने र त्यसवाट विश्रृंखलताको र अराजकताको परिस्थिति सिर्जना गरेर पूरै स्टेट फेलियरमा लैजाने डिजाईन गरेर बसेको अदृश्य शक्तिलाई मद्दत गर्ने उहाँको भनाइ छ ।

वर्तमान सरकारको काम शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्ने र ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण गर्ने भएको बताउनुभयो । अझ मुख्यतः निर्वाचन नै यो सरकारको काम भएको दोहोर्याउँदै उहाँले आफ्नो मुल म्याण्डेडबाट सरकारच्युत हुन नुहुने बताउनुभयो ।

दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण गर्न आवश्यक 
राजनीतिक दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण र अपग्रेड गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जेन जीहरुको आवाज पनि पुराना दलहरुले आफ्नो कार्यशैली कार्यशैली परिवर्तन गर्छन् कि गर्दैनन् भन्ने नै रहेको उहाँको भनाइ छ । जेन जीहरुको आवाजलाई सबै राजनीतिक दलहरुले सुन्नुपर्ने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रले उनीहरुको आवाज सुनेर नै विशेष महाधिवेशन गर्न लागेको उहाँको दाबी छ । उहाँले राजनितिक दलमा नेतृत्व मात्रै परिवर्तन गरेर नहुने बताउनुभयो । दलहरुका प्रवृत्ति फेरेर रुपान्तरण गर्दै अपग्रेड गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले संविधानअनुसार आगामी दिनमा आफ्ना गतिविधि अगाडी बढाउन पनि सबै पक्षसँग आग्रह गर्नुभयो । संवैधानिक परिधिभित्रै रहेर समस्याको हल गर्न सकिने उहाँको भनाइ छ ।

Leave a Reply