काठमाडाैं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनर्स्थापनाकाे माग लिएर अदालत जाने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उहाँले एमाले संसद पुनर्स्थापनाकाे माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने जाने बताउनुभएको हो ।
नेता बस्नेतले संसद पुनर्स्थापनाकाे माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत् अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भइरहेको समेत बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्धको जेन जी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक पटक बताउनुभयो ।
नेता बस्नेतले भन्नुभयो,‘संसद पुनर्स्थापनाकाे माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं । र, यतिखेर जेन जीहरुको मागलाई नयाँ दलहरुले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैल्याइएको छ । म जेन जी भाइबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेन जी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौँ। भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौँ । तर तपाईहरुको रगतमा होली खेलेर घाईतेहरुको बैशाकी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ ।’
नेता बस्नेतले जेन जी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए/नभएको छानविन गर्नुपर्ने माग गर्नुभयो ।





