चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किनुभएको छ। चिनियाँ राष्ट्रपति सी जिनफिङज्यूको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिन र बेइजिङ प्रस्थान गर्नुभएको थियो।

भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री ओलीज्यूले चिनियाँ राष्ट्रपति सी जिनफिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। चिनियाँ राष्ट्रपति सी सँगको भेटमा उहाँले लिपुलेक पासको मुद्दा उठाउँदै नेपालको भूभागमाथिको दाबीलाई जोडदार रूपमा प्रस्तुत गर्नुभएको थियो । नेपाललाई जानकारी नदिइ भारत र चीनबीच लिपुलेकमा व्यापार नाका सञ्चालन गर्ने सम्झौताप्रति उहाँले कडा आपत्ति जनाउनुभयो। परराष्ट्र सचिव राईज्यूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लिपुलेक नेपालको भूभाग भएको र चीनले यो कुरा बुझिदिनुपर्ने भन्दै नेपालको अडान द्विपक्षीय भेटमा स्पष्ट रूपमा प्रधानमन्त्री ओलीले राख्नुभएको जानकारी गराउनुभयो।

रुसी राष्ट्रपति पुटिन सँगको भेटमा उहाँले नेपाल भ्रमणको निम्तो दिनुभयो भने राष्ट्रपति पुटिन पनि प्रधानमन्त्री ओलीलाई रुस भ्रमणको निमन्त्रणा दिनुभयो। यस्तै तियान्जिनमा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन (भदौ १६ गते) गर्दै उहाँले नेपाललाई संगठनको पूर्णकालीन सदस्यताका लागि आग्रह गर्नुभयो। साथै, उहाँले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजनाहरू शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो र नेपालको विकासमा चीन सरकारको सहयोगप्रति राष्ट्रपति सीलाई धन्यवाद दिएको सचिव राइले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली बेइजिङमा आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को ८० औँ विजयोत्सव समारोहमा सहभागी हुनुभयो र सैन्य परेडमा भाग लिनुभयो। परराष्ट्र सचिव राईज्यूले यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाएको, लिपुलेक मुद्दामा नेपालको अडान स्पष्ट रूपमा राखिएको र एससीओमा नेपालको पूर्णकालीन सदस्यताको सम्भावना बढेको बताउनुभयो।

प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उहाँका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका सचिव श्री अमृत बहादुर राईलगायतका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

Leave a Reply