काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।
नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए ।
भ्रष्ट आचरण र पथ भ्रष्ट भएका व्यक्ति छन् भने पदासीन भएपनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ थियो । ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै प्रधानमन्त्रीकै कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस् ।’संयुक्त राष्ट्रसङ्घले भने झैँ कोही पनि पछि नपरुन् नो वान लेफ्ट बिह्याण्ड भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवन यापनका लागि दृढ सङ्कल्प गर्न आग्रह गर्दै उनले नेपाललाई विकसित मुलुकमा रूपान्तरणका लागि सुशासनको दृढ सङ्कल्प लिएर छिटो छिटो दौडन आवश्यक रहेको बताए ।
अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ । पथ भ्रष्ट हुनेलाई कानुनको नियन्त्रणमा ल्याइयोस्’, प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक रुपमा उर्वर र ज्ञानको भूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । देखिएका कमजोरी छन् त्यस क्रममा सतर्कता केन्द्रले आफ्नो सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।’




